भारतमा रहेका नेपालीकाे दूतावाससँग छैन कुनै तथ्याङ्क

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जम्मु काश्मीर, पन्जाब, राजस्थान, गुजरात र हिमाञ्चल प्रदेशमा कार्यरत नेपालीको वास्तविक सङ्ख्या सरकारी निकायसँगै छैन । भारतका यी पाँच राज्यमा हजारौँ नेपाली कार्यरत रहे पनि उनीहरूको अवस्थाबारे दिल्लीस्थित नेपाली राजदूतावास नै अनभिज्ञ रहेको छ ।

नेपाली राजदूतावासले शुक्रबार सूचना प्रकाशित गरी जम्मु काश्मीरसहित युद्धप्रभावित क्षेत्रमा कार्यरत नेपालीलाई सुरक्षित रहन आग्रह गर्ने औपचारिकता पूरा गरे पनि त्यहाँ रहेका नेपालीको अवस्थाबारे कूटनीतिक नेतृत्वले अनभिज्ञता प्रकट गरेको हो ।

भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले युद्धप्रभावित क्षेत्रमा रहेका नेपालीको सङ्ख्याबारे तथ्याङ्क नरहेको बताउदै भने , “हामीले त्यहाँ सोध्न चाहिँ लगाइरहेका छौँ तर सरकारी संयन्त्रमा जाने कुरा भएन । नेपाली समुदाय र सङ्घ संस्थाबाट बुझ्ने कुरा भइरहेको छ । सीमा क्षेत्रबाट तथ्याङ्क आएको छैन । जम्मु काश्मीरमा पनि नेपाली कति छन् भन्ने तथ्याङ्क छैन ।”

‘समस्या परे सम्पर्क गर्नू’

भारतका लागि नेपाली राजदूत डा. शर्माले भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन एवं सङ्कटकालीन अवस्थामा सुरक्षित र आपत्कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरिएको बताए  । उनले भने , “अप्रिय घटना भएमा, आपत्कालीन सुरक्षा साइरन बज्दा कहाँ जाने र आपत्कालीन सेवा लिन कहाँ जाने भन्ने जानकारी लिन र सुरक्षित भएर बस्न अनुरोध गरिएको छ ।”

उनका अनुसार पन्जाबमा रेलसहित सवारीसाधन सुचारु छन् ।  चण्डीगढदेखि सिम्लासम्म बसोबास गर्ने नेपालीलाई नेपाल फर्किन चाहे कुनै समस्या नभएको बताउदै उनले भने , “जम्मु काश्मीरबाट हामीलाई सम्पर्क भएको छैन । सीमा क्षेत्रका नागरिकलाई भारत सरकारले नै अन्यत्र सारेको छ । हामीलाई सोधपुछ भई नै रहेको छ । दूतावासले सहजीकरण गर्छ ।”

कति छन् नेपाली ?

सरकारी निकायसँग वास्तविक तथ्याङ्क नभए पनि अन्य सङ्घसंस्थाले नेपाली नागरिकको तथ्याङ्क सङ्कलन गर्ने गरेका छन् । विशेष गरी नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका राजनीतिक दलले आफ्ना प्रवासी सङ्गठनमार्फत भारतमा कार्यरत नेपालीको सङ्ख्या सङ्कलन गर्दै आएका छन् ।

भारतमा सक्रिय राजनीतिज्ञ एवं सामाजिक अभियन्ता बालकृष्ण पाण्डेका अनुसार जम्मु काश्मीरमा अनुमानित ३० हजार नेपाली नागरिक कार्यरत छन् । उनले भने , “वास्तविक तथ्याङ्क त नेपाल सरकार, भारत सरकार र नेपाली दूतावाससँग पनि छैन तर विभिन्न सङ्घसंस्थामा आबद्ध र अरू नेपाली गरी ३० हजार जति जम्मु काश्मीर राज्यमा छन् ।” उनले जम्मु काश्मीरमा होटल र टे«ेकिङ (भरिया) मा धेरै नेपाली आबद्ध रहेको र केही नेपालीले अनुमति लिएरै काम गरिरहेको बताए ।

पाण्डेले निर्माण, होटल, उद्योग, कृषि, चौकीदार, सुरक्षागार्डको काममा नेपाली कार्यरत रहेको र , “होटल रेस्टुरेन्ट सञ्चालन गरेर बस्ने नेपाली पनि छन् ।” भने ।

राजनीतिज्ञ पाण्डेले पन्जाबमा एक लाख ५० हजारभन्दा बढी नेपाली कार्यरत रहेको र ती औद्योगिक क्षेत्रमा प्राविधिक तथा सुरक्षागार्डदेखि कृषि श्रमिकसम्म रहेको बताउदै भने  राजस्थान र गुजरातमा पनि एक लाखको हाराहारीमा नेपाली छन् ।  “कर्णाली, सुदूरपश्चिमका नेपालीको रोजगारीको गन्तव्य भारतका यी राज्य हुन् । औद्योगिक क्षेत्रसँगै समुद्री तटका ठुला होटल रेस्टुरेन्टमा काम गर्ने नेपालीको सङ्ख्या पनि ठुलो छ ।”

‘फर्किनेको सङ्ख्या बढेको छैन’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार भारत र पाकिस्तानबिच तनाव बढेपछि पनि कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेको छैन । उनले नियमित आउने जाने भइरहेको बताउदै , “परिचयपत्र हेरेर रेकर्ड राखेर आवतजावत गर्न दिइएको छ । सीमा क्षेत्रमा स्थिति सामान्य छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *