डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पानी पर्न थालेकाले डेंगु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेंगु  सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका छन्  ।

उनले भने , “पानी जम्मा हुँदा त्यसमा डेंगु सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेंगु सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।”

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेंगु रोग लाग्ने गर्दछ ।

शाखा प्रमुख डा. दाहालले गत वर्ष धेरै डेंगु सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए  । उनका अनुसार पुस १७  यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित मध्ये १५ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *