संस्कृत विश्वविद्यालयमा चार महिनादेखि ताला

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल संस्कृत विश्वविद्यालय, दाङमा तालाबन्दी गरिएकाे कारण चार महिनादेखि प्रशासनिक, आर्थिक र शैक्षिक गतिविधि प्रभावित हुँदै आएको छ । बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र अनुसन्धान केन्द्रका कर्मचारीले कार्यालयबाहिरै हाजिर गरिरहेका छन् । उनीहरूले तालाबन्दी भएदेखि नै तलब पाएका छैनन् ।

विश्वविद्यालयमा अनियमितता रोकी दोषीलाई कारबाही गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठमा अस्पताल निर्माण गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठ र बीपी संस्कृत विद्यापीठ सोलुखुम्बुमा छात्रावास निर्माण गर्नुपर्नेलगायतका माग राख्दै माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले गत १२ पुसमा केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएको थियो । फागुनदेखि अनुसन्धान केन्द्रको कार्यालयमा पनि तालाबन्दी गरिएको छ । विश्वविद्यालयमा पठनपाठन भने भइरहेको छ ।

ताला खुलाउने विषयमा पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले पटकपटक वार्ता भएको र अधिकांश माग सम्बोधन भइसकेको बताए । केन्द्रीय आयुर्वेद विद्यापीठमा ओपीडी निर्माणका लागि १० लाख र छात्रावास निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरी प्रक्रिया अघि बढिसकेको पनि उनले जानकारी दिए । छात्रवृत्ति वितरणका लागि पनि विश्वविद्यालय तयार भइसकेको उनको भनाइ छ ।अखिल क्रान्तिकारीको मागबमोजिम १ सय शय्याको अस्पताल निर्माण भने विश्वविद्यालयको स्रोतसाधनबाट सम्भव नहुने कुलसचिव अधिकारीले बताए । ‘कार्यकारी परिषद्बाट सम्भव हुने सबै माग पूरा गर्न विश्वविद्यालय तयार भइसकेको छ,’ अधिकारीले भने, ‘तर ताला खुलेको छैन ।’ विश्वविद्यालयमा उपकुलपति र कुलसचिव नयाँ छन् । अब केही समयपछि शिक्षाध्यक्ष पद खाली हुँदै छ । सेवा आयोग, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र तथा अनुसन्धान केन्द्रका प्रमुख र शिक्षाध्यक्षमा कसलाई नियुक्त गर्ने भन्ने विषयलाई राजनीतिक मुद्दा बनाएर तालाबन्दी लम्ब्याइएको विश्वविद्यालयकै सभासदहरू बताउँछन् । ‘अहिले कांग्रेस र एमाले गठबन्धनको सरकार रहेकाले तालाबन्दीमार्फत दबाब दिएर ती पदमा आफूनिकट व्यक्ति नियुक्ति गराउन तालाबन्दी गरेको देखिन्छ,’ एक सभासदले भने, ‘तालाबन्दीमा विद्यार्थी संगठन देखिए पनि भित्री रूपमा विश्वविद्यालयकै कतिपय पदाधिकारी, कर्मचारी र पार्टीका नेताहरूको भूमिका छ ।’

माओवादी केन्द्रीय सदस्य तथा विश्वविद्यालयका सभासद निर्मल आचार्य तालाबन्दी गर्नु उचित नभएको बताउँछन् । ‘तालाबन्दी भनेको आन्दोलनको अन्तिम रूप हो । यसलाई जति बेला पनि प्रयोग गर्ने प्रवृत्ति बढ्यो,’ उनले भने, ‘तालाबन्दी यति लामो समयसम्म हुनुमा भित्री रूपमा विश्वविद्यालयभित्रकै जिम्मेवार व्यक्तिहरूको पनि हात देखिन्छ ।’ विद्यार्थीका उचित माग सम्बोधन गरी वार्तामार्फत निकास निकाल्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको उनले बताए ।

विश्वविद्यालयका पदाधिकारी माग सम्बोधन गर्न गम्भीर नभएको आचार्यको टिप्पणी छ । ‘समस्या सुरु गरेपछि समाधान पनि खोज्नुपर्छ । आफैं जिम्मेवार पदाधिकारीले ताला लगाउन उकास्ने तर समाधान गराउन नसक्ने समस्या देखियो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *