मादक पदार्थ सेवन गरेर वडाध्यक्षले कुटे कर्मचारी र व्यवसायी

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारी र व्यवसायी कुटेका छन्। जनताको प्रतिनिधि रहेका उनले मंगलबार एकै दिन पोखरा महानगरपालिकामा कार्यरत कर्मचारी र पोखरा–४ सर्वेश्वरमार्गका व्यवसायी कुटेका हुन्।

मादक पदार्थ सेवन गरेर मैमत्ता भएका वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन शाखामा कार्यरत सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गर्दै लछारपछार गरेका थिए।

उनले कर्मचारीलाई आन्तरिक रुपमा दिइएको तालिम ‘कसलाई सोधेर आयोजना गरेको’ भन्दै कुटपिट गरेको एक कर्मचारीले बताए। उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृतले बोलाएर उनको कार्यकक्षमा पुगेका अधिकृत पोखरेललाई वडाध्यक्ष पराजुलीले एक्कासि कठालो समातेर कुटपिट गर्दै लछारपछार गरे।’

आफूमाथि कुटपिट भएपनि कर्मचारी पोखरेल मौन बसेका छन्। उनलाई घटना सार्वजनिक नगर्न जनप्रतिनिधि र हाकिम कर्मचारीकै दबाब रहेको श्रोतले बताएको छ।

महानगरबाट रन्थनिएर आएका वडाध्यक्ष पराजुलीले अपराह्न सर्वेश्वर मार्गमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका व्यवसायी लेखनाथ सुवेदीलाई पनि कुटपिट गरेका थिए।

महानगर प्रहरीलाई लिएर फुटपाथको सामान उठाउन गएका उनले आफूलाई कुटपिट गरेको सुवेदीले बताए। ‘सडक पेटीमा भएको सामान उठाएर लगे’, उनले भने, ‘त्यसरी लगेको सामानमा ग्राहकको पनि परेछ। त्यो ग्राहकको सामान मात्रै भएपनि फिर्ता दिन आग्रह गर्दै अलि परसम्म जाँदै थिएँ, वडाध्यक्ष पराजुलीले एक्कासि कुटपिट गर्नुभयो।’ वडाध्यक्ष पराजुलीले आफूलाई मादक पदार्थ सेवन गरेर कुटपिट गरेको व्यवसायी सुवेदीको आराेप छ।

आफैले मत दिएर जिताएको वडाध्यक्ष पराजुलीले आफैमाथि कुटपिट गरेपछि सर्वेश्वर मार्गका व्यवसायीले उनीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्। तर प्रहरीले जाहेरी दर्ता भने गरिसकेको छैन।

आफूमाथि कुटपिट गर्ने वडाध्यक्ष पराजुलीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको पीडित व्यवसायी सुवेदीले बताए। उनले भने, ‘तर प्रहरीले जाहेरी दर्ता गरेको छैन। सायद सोर्सफोर्सका कारण जाहेरी दर्ता नगरेको हुनसक्छ। दिन दहाडै ममाथि कुटपिट भयो। यसरी वडाध्यक्षबाटै असुरक्षित भइन्छ भने हामी कसरी सुरक्षित हुन सकिन्छ ? उनले जनताको सेवा कसरी गर्न सक्छन् ?’

यसअघि सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरूको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले व्यवसायीलाई कुटपिट गर्ने वडाध्यक्ष पराजुलीलाई कारबाही गर्न माग गर्दै वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।

मादक पदार्थ सेवन गरेर व्यवसायी कुट्ने वडाध्यक्ष पराजुलीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउन उनीहरूको माग छ। समितिका अध्यक्ष तुलबहादुर थापा (राजन) ले व्यवसायी कुट्ने पराजुलीलाई कारबाही गरिनुपर्ने बताए। उनले भने, ‘रक्षक नै भक्षक भएपछि उसलाई पनि त कारबाही हुनुपर्‍यो नि।’

वडाध्यक्ष पराजुलीले कुटपिट गरेको स्वीकारेका छन्। म माथि नै आई लागेपछि प्रतिकार मात्र गरेको हुँ,’ उनले भने, ‘मलाई नै देखाइदिने भन्दै औँला ठड्याउन थालेपछि प्रतिकार गर्दा लागेको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *