भारतीय वायुसेनाले पाकिस्तान सीमासँग सटेका मरुभूमि क्षेत्रहरूमा आज मे ७ दिउसाे देखि ठूलो हवाई अभ्यास गर्ने तयारी गरेको छ । अभ्यासमा राफेल, मिराज २०००, सुखोई-३० लगायतका अग्रपंक्तिका लडाकु विमान सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस सन्दर्भमा भारतले ‘नोटम’ (Notice to Airmen) जारी गर्दै हवाई क्षेत्र प्रयोगबारे जानकारी दिएको छ । अभ्यासको उद्देश्य सम्भावित आक्रमणको अवस्थामा पूर्ण तयारी सुनिश्चित गर्नु हो ।
मोक ड्रिलसहितको सुरक्षा तयारी
भारतको गृह मन्त्रालयले सोमबार सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई पत्र पठाउँदै मे ७ का दिन’मोक ड्रिल’ सञ्चालन गर्न निर्देशन दिएको छ । मोक ड्रिल अन्तर्गत हवाई आक्रमणको चेतावनी साइरन, नागरिकलाई आत्मरक्षा तालिम, ब्ल्याकआउट (बिजुली बन्द) अभ्यास, महत्त्वपूर्ण संरचनाको सुरक्षाका उपाय, र उद्धार योजनाको अद्यावधिकजस्ता अभ्यास गरिनेछ ।
अभ्यासका क्षेत्र र सहभागी
गृह मन्त्रालयका अनुसार यो अभ्यास भारतभरका २४४ सिभिल डिफेन्स जिल्लामा, गाउँस्तरमा समेत सञ्चालन हुनेछ । यसको उद्देश्य नागरिक सुरक्षा प्रणालीको क्षमता परीक्षण र सुधार गर्नु हो ।
यस अभ्यासमा जिल्ला अधिकारी, सिभिल डिफेन्स वार्डन तथा स्वयंसेवक, होमगार्ड (सक्रिय र आरक्षित दुवै), राष्ट्रिय सेवा योजनाका सदस्य (एनसीसी, एनएसएस, एनवाईकेएस) र स्कुल–कलेजका विद्यार्थीहरू सहभागी हुनेछन् ।
भारतको यो कदम हालैको पहलगाम आतङ्कवादी हमलापछि भारत–पाकिस्तानबीच बढेको तनावलाई ध्यानमा राखेर चालिएको बताइएको छ । वायु अभ्यास र मोक ड्रिलमार्फत भारतले सुरक्षा सजगता बढाउने सङ्केत दिएको छ ।