उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित त्रियुगा नदीले सप्तरीमा जन्ती पुर्याएर फर्किदै गरेको बस बगाएको छ । नदीमाथि हृयुम लगाएर अस्थायी रुपमा संचालन भइरहेको सडक सोमबार बेलुका परेको पानीले कमजोर बनेपछि सिवाईबाट बेल्टार आउँदै गरेको को १ ख ४७५३ नम्बरको बस बगेको थियो ।
सोमबार राति नदीबाट बस निकाल्न प्रयास गरिए पनि संभव नभएपछि मंगलबार बिहान नदीको भेल बाढीले हृयुम पाईपसहित बस बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहरनाथ योगीले बताए । त्रियुगा नदीमा सोमबार राति एक्कासी बस भासिँदै गएपछि बस चालक चौदण्डीगढी नगरपालिका–५ सिवाईका ३८ वर्षीय ईश्वर खत्रीले हाम फालेर ज्यान जोगाएका थिए ।
बस ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीको नेतृत्वमा सोमबार दिउँसो क्रेनको सहायताले निकाल्ने प्रयास गरिएकोमा असफल भएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक बबिन राईले बताए ।
चौदण्डीगढी–५ सिवाई र बेलहा जोड्न अस्थायी रुपमा लगाइएको हृयुम पाईप बेमौसमी बाढीले बगाएपछि बेल्टारसँगको सिधा सम्पर्क टुटेको छ । बाढीले ह्युमपाइप बगाएपछि सुन्दरपुर, हडिया, बेल्हालगायत चौदण्डीगढी नगरपालिकाका ५, ९ र १० नं. वडाका करिब २० हजार नागरिकलाई बेल्टार आउजाउ गर्न समस्या भएको छ ।
‘हिउँदमा जसोतसो अस्थायी रुपमा हृयुम पाइप राखेर सवारी संचालन हुँदै आएको थियो, त्यो पनि त्रियुगा नदीको बाढीले हृयुमपाइपसहित स्थायी बाटो बगायो,’ चौदण्डीगढी नगरपालिका–१० का वडाध्यक्ष धर्मेन्द्रकुमार खड्काले बताए । उनले भने, ‘अब बेल्हा, हडिया, सुन्दरपुरका बासिन्दाहरु बेल्टार पुग्न गाईघाट हुँदै ४१ किलोमिटर घुम्नुपर्ने भयो ।’
त्रियुगा नदीले बगाएको पक्कीपुल २०७८ असार १९ गतेको बाढीले क्षतिग्रस्त बनाएदेखि हालसम्म पुनःनिमाण सुरु भएको छैन । जसकारण यसपालीको बर्षामा पनि त्यसक्षेत्रका नागरिकले सास्ती पाउने निश्चित छ । ०६७ सालमा निर्माण सुरु भएको मोटरेबल पक्की पुल भत्किएको तीन वर्ष भइसक्दासमेत पुनःनिर्माणको सुरसार छैन ।
पुल भत्केको केही दिनपछि नै डिभिजन सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमक, पुल महाशाखा र पुल सेक्टर १ धरानबाट संयुक्त प्राविधिक टोली आएर स्थलगत अनुगमन गरी फर्केको थियो । तर, अध्ययन टोली फर्केर प्रतिवेदन बुझाउन नपाउँदै १५ दिनपछि साउन २ गतेको अविरल वर्षपछिको बाढीले थप २ पिल्लर भाँचेपछि पुलको तेस्रो स्पान पनि भत्केको थियो ।
५ पिलर र ३ स्पान बाढीले भत्काउँदा ४ वटा स्ल्याब भाँचिएर पुल कामै नलाग्ने अवस्थामा पुगेको छ । तर यत्तिका समयसम्म पुल मर्मत गर्ने वा नयाँ बनाउने भन्नेबारे सरकार अन्योलमै छ । १५ वर्षसम्म पुल निर्माण सम्पन्न नहुँदा बेल्टारबजार आवतजावतमा निकै समस्या खेप्नु परेको चौदण्डीगढ–१० हडियाका रामु चौधरीले गुनासो गरे ।
पुल क्षतिग्रस्त भएको यति धेरै समय बितिसक्दा पनि पुनःनिर्माण नहुनु भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागकै बेवास्ता भएको चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाले बताए ।