अनिश्चित बन्यो जनमत-नागरिक उन्मुक्ति एकता

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

गत वैशाख १७ गते रेशम चौधरी पक्राउ नपरेको हुन्थ्यो भने जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भइसकेको हुन्थ्यो। तर, नागरिक उन्मुक्तिका संरक्षक रहेका चौधरी एक्कासि एकता घोषणा स्थल (नेपाल प्रज्ञा प्रतिष्ठान)बाटै पक्राउ परे। यसपछि एकता घोषणा कार्यक्रम स्थगन गर्नुपर्‍यो।

चौधरी त्यही दिन पाँच घण्टापछि छुटिसकेका छन्। उनी पक्राउ पर्नको कारण के थियो ? यसबारे सबैलाई अवगत भइसकेको अवस्था छ। उनले यसबारे पुस्तक नै लेख्ने तयारी पनि थालेका छन्। जे होस्, दुई पार्टीबीचको एकता भने अनिश्चित बन्यो।

घटना घटित भएको पाँच दिन बितिसकेको छ। तर, दुई पार्टीबीचको एकता भने अझै निश्चित बनेको छैन। कहिले हुन्छ एकता घोषणा ? दुबैतिरका नेताहरूसँग ठोस जवाफ छैन।

जनमतका प्रवक्ता डा. शरदसिंह यादव र नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितलाई प्रश्रगर्दा जवाफ खास फरक देखिएन । उनीहरूले भने- अहिल्यै निश्चित भइसकेको छैन। यादव र पण्डितले सकभर चाँडो गर्न प्रयास गर्नेसम्म मात्रै भन्न सके। तर, दिन तोक्न भने सकेनन्। उनीहरूले ‘वैशाख महिनाभित्रै’ भनेका छन्।

चौधरी-राउतबीच निरन्तर संवाद

जनमत अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ। उनीहरूका बीचमा कतिपय कुराहरू टुङ्गिन बाँकी रहेको बताइन्छ। चौधरी ‘प्याकेज’मै घोषणा गरेर जानुपर्ने पक्षमा छन् भने राउत अहिलेका लागि नाम,नेतृत्व, झण्डालगायत मात्रै घोषणा गरेर जानुपर्ने अडानमा छन्। यसमा उनीहरूबीच सहमति भइसकेको छैन।

यसअघि गत मङ्गलबार राति १२ बजेसम्म उनीहरूबीच संवाद भएको थियो। तर, यस विषयमा कुरा मिलेको थिएन। चौधरीले ‘उधारो एकता गरिन्न’ भनेका छन्। स्रोतका अनुसार मङ्गलबार राति १२ बजे उनीहरू बिना सहमति उठेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *