कुनैबेला लमजुङको उत्तरी क्षेत्रमा शिक्षाको ज्योति बाल्ने व्यक्ति थिए टेकनारायण घिमिरे । हालको मस्र्याङ्दी गाउँपालिकाका १२ वटा विद्यालयको सुरुवातसँगै चितवनका तीन वटा विद्यालयमा समेत उनले अध्यापन गराए । घिमिरेको कामै दूरदराजमा विद्यालय स्थापना गर्ने र स्थानीय बालबालिकालाई विद्यालय पुर्याउने थियो । दुर्गममा शिक्षाको ज्योति फैलाउने घिमिरे अहिले वृद्धावस्थामा वृद्धाश्रमको सहारामा पुगेका छन् ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडाको लामपाटा स्थायी निवासी ८० वर्षीय घिमिरेले सो क्षेत्रमा १२ विद्यालयको थालनी गरे । उत्तरी लमजुङको शिक्षाको संस्थापक भनेर चिनिने घिमिरेको योगदानलाई अहिले न राज्यले चिन्यो न त स्थानीयले नै सम्मान गर्न सके । अन्ततः उनि बेसहारा बन्दै वृद्धाश्रममा थन्किनु पर्यो । पहिलेको जमानामा ८ कक्षा उत्तीर्ण गरेपछि स्कुलमा पढाउन पाइन्थ्यो । त्यतिबेला संस्कृतमा तीक्ष्ण घिमिरे सबैको हाई हाई भए । १० कक्षा पढेका घिमिरेलाई संस्कृत पढाउने राम्रो शिक्षक भन्दै सबैतिर तानातान हुन्थ्यो । उनकै पहलमा दर्जन विद्यालय खुले । उनले अध्यापन गराएका विद्यालयमा चन्द्रोदय माध्यामिक विद्यालय बाहुनडाँडादेखि चितवनको शशिनगर आधारभूत विद्यालयसम्म छन् ।
शिक्षण पेसामा २५ वर्षभन्दा बढी बिताएका घिमिरेले घरजम गर्ने, जायजेथा जोड्ने समय नै दिएनन् । उनिसँग अहिले सम्पत्तिको नाममा तिनै विद्यालयले दिएको प्रमाणपत्रबाहेक अरू केही छैन । “सम्पत्ति, श्रीमती, परिवार सबै यही हो,” घिमिरेले भने , “दुर्गम गाउँमा विद्यालय खोल्न पाएँ, अहिले सबैले पढ्न पाए, त्यही नै खुसी लागेको छ ।” उनको योगदानको अभिलेख शिक्षा समन्वय एकाइ लमजुङमा समेत छैन ।
सरकारले एसएलसी उत्तीर्ण गरेका दरबन्दीका शिक्षक पठाउन थालेपछि उनले एक विद्यालय हुँदै अर्को विद्यालय चहार्नु पर्यो । पछि सबै विद्यालयमा एसएलसी उत्तीर्ण शिक्षक पुगेपछि उनि शिक्षण पेसाबाटै बाहिए । मस्र्याङ्दी–३, सिउरुङको लताकुञ्ज आधारभूत विद्यालयका प्रधानाध्यापक उमरजङ्ग गुरुङले शिक्षाको ज्योति फैलाउने घिमिरेलाई राज्यले सम्मान गर्न नसकेको बताउदै आफ्नो विद्यालयमा करिब पाँच वर्ष पढाएपछि स्टकोट र ढाकाटोपी लगाइदिएर बिदाइ गरेको गुरुङ स्मरण गरे ।
एसएलसी पास नभएकाले उनि स्थायी हुन सकेनन् विद्यालयबाट आवकाश लिनु परेपछि घिमिरे केही समय पूजापाठ गरेर गाउँघरतिर चहारे । पूजापाठबाट पनि गुजारा नचलेपछि गाउँलेको गोठमा बसेर काम गरेको घिमिरेले बताए । “उमेर ढल्कँदै गएपछि लेकबेँसी गर्न सकिनँ । हातखुट्टा गल्दै गएपछि काम गर्न पनि सकिनँ,” घिमिरेले भने , “मेरो योगदानको मूल्याङ्कन भएन, जीवन जिउने सहारा नभएपछि वृद्धाश्रमको बास भयो ।” बेसहारा बनेपछि गाउँलेको सहयोगमा घिमिरेलाई १० वर्षअघि राइनास–८, तार्कुघाट हर्राबोटमा रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धाम आश्रममा ल्याइएको हो । अधिकांश दाँत झरेका घिमिरे राम्रोसँग सुन्न पनि सक्दैनन् ।
आफू जस्तै बेसहारा वृद्धवृद्धाबिच बस्न पाउँदा निकै खुसी लागेको घिमिरे बताउछन् । तिनै बुढाबुढीबिच उनि संस्कृतका श्लोक, बालन, भजन र कविता सुनाएर बस्छन् । राजनीतिमा बढ्ता चाख दिने घिमिरेले कान सुन्न नसक्दा रेडियो सुन्न नपाएको बताए । आफू भएको ठाउँमा पत्रपत्रिका नआउँदा खबरबाट वञ्चित हुनु परेको गुनासो पनि उनको छ ।
वृद्धाश्रममा बसे पनि उनि त्यसै बस्दैनन् हाल उनि आफ्नो आत्मकथा लेखनमा लागेकाे आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताए । उनको आत्मकथा आश्रमले नै प्रकाशन गरिदिने तयारी गरिएको ओलियाले बताउदै “उनले शिक्षा क्षेत्रमा दिएको योगदानको कदर हुन सकेन, राज्यलाई थप घचघच्याउन आत्मकथा प्रकाशनको तयारीमा छौँ,” ओलियाले भने ।