हतियारसहित ६ वटा विमान पाकिस्तान पठाएको आरोपमा बोल्यो टर्की

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

टर्कीले भारत-पाकिस्तान तनावबिच पाकिस्तानमा हतियार बोकेको विमान पठाएको समाचारको खण्डन गरेको छ। केही सञ्चारमाध्यमले टर्कीले हतियारले भरिएका ६ वटा विमान पठाएको दाबी गरेका थिए। टर्कीको सञ्चार निर्देशनालयले एउटा मालवाहक विमान (सी–१३० हरक्यूलिस) इन्धन भर्नका लागि मात्र पाकिस्तानमा अवतरण गरेको भनेको छ।

टर्कीको रक्षा मन्त्रालयले भनेको छ, ‘विमान इन्धन भर्नका लागि अवतरण गरेको थियो, त्यसमा सैन्य सामग्री थिएन। यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गर्छौं।’ यो खण्डन टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानले भारत र पाकिस्तानलाई संयमता अपनाउन आह्वान गरेपछि आएको हो। उनले अंकारामा भनेका थिए, ‘हामी क्षेत्रमा नयाँ द्वन्द्व चाहँदैनौ। दुवै देशले तनाव कम गर्न कदम चाल्नुपर्छ।’

यो विवाद जम्मू-कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंककारी हमलापछि बढेको हो। सो घटनामा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो। भारतले हमलामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ। तर पाकिस्तानले अस्वीकार गरेको छ।

पहलगाम हमलापछि भारतले सिन्धु जल सन्धि निलम्बन, वाघा सीमा बन्द र पाकिस्तानीलाई फिर्ता पठाउनेसहितका कदम चालेको छ। पाकिस्तानले पनि भारतीय विमानका लागि हवाई क्षेत्र बन्दसहितका कदम चालेकाे छ। टर्की र पाकिस्तानबिच रणनीतिक सम्बन्ध रहेको छ। टर्कीले पाकिस्तानलाई ड्रोन र सैन्य उपकरण आपूर्ति समेत गर्दै आएको छ। कश्मीर मुद्दामा टर्की सधैं पाकिस्तानको पक्ष लिइरहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *