यस वर्षको यार्सागुम्बा सङ्कलन सुरु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मनाङमा यस वर्षको यार्सागुम्बा सङ्कलन सुरु भएको छ । वैशाख दोस्रो हप्तापछि सुरु हुने यार्साको समय असार अन्त्यसम्मै रहने गरेको छ । समय मिलाएर साइत हेरेर मनाङका विभिन्न ठाउँमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइन्छ ।

बहुमूल्य जडीबुटी यार्सागुम्बा मनाङको सम्मृद्धिको अर्को आधार बन्दै गएको छ । यस सिजनको पहिलो यार्सागुम्बा सङ्कलनका लागि नासौँ गाउँपालिकाको नाम्ग्या लेकबाट सुरु गरिएको नासौँ–८ ताचैका वडाध्यक्ष एवम् संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष याद घलेले जानकारी दिए  ।

मनाङीहरुले संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०८० र अन्य प्रचलित कानुनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङबाट यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन गर्न अनुमति लिन थालेका छन् ।

अनुमति प्राप्त भएपछि मात्र संरक्षण क्षेत्र व्यवस्थापन समितिले सङ्कलनकर्तालाई आफ्नो क्षेत्रभित्र सङ्कलन पुर्जी दिने गर्दछ । विगतका वर्षहरूमा भएका घटनाबाट पाठ सिक्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको छ । जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको समय सुरु भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए  । सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइएको उनको भनाइ छ ।

मनाङका वन क्षेत्रमा यार्सागुम्बा सङ्कलनको अनुमति दिने वा नदिने अधिकार सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई नै रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । एक्याप इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै लेक जान पाउने प्रावधान छ । नाम्ग्या लेकमा भने स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई पनि सङ्कलन अनुमति दिइने गरेको छ ।

मनाङमा यार्सागुम्बा सङ्कलन गर्न छिमेकी जिल्ला गोरखा तथा लमजुङबाट पनि सर्वसाधारण आउने गर्दछन् । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले नार्पाभूमिमा यार्सागुम्बा सङ्कलन समय सुरु नभएको बताउदै  आफ्नो पालिकामा बाहिरी जिल्लाबाट आउनेलाई यार्सा सङ्कलनमा रोक लगाइएको बताए  । नार्पाभूमिको नार र फू संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट यार्सा सङ्कलनमा रोक लगाइएको  छ ।

जिल्लाभित्रका यार्सागुम्बा खरिदकर्तालाई २० हजार र जिल्ला बाहिरका खरिदकर्तालाई जनही ४० हजार रुपियाँका दरले संरक्षण क्षेत्र व्यवस्थापन समितिले दस्तुर लिने गरेको छ । ३५ हजार रुपियाँ तिरी पुर्जी काटिसकेपछि मात्रै सङ्कलकलाई समितिले सहज रूपमा लेकतर्फ जान अनुमति दिन्छ । मनाङको धारापानी र थोँचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । नाम्ग्य , किन्चो , याक , पिसाङ , फू , मनाङ , आइस , स्याक्यु , थोराङ्ला लेकमा बढी यार्सागुम्बा पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *