ताप्लेजुङ घटनाको छानबिन समिति गठन

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेका छन्।

यही वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना १ ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी भएको थियो। उक्त घटनामा चार जनाको मृत्यु भएको थियो। यस घटनाबारे छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन भएको हो।

विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ।समितिमा मन्त्रालयका दुई जना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एक जना प्रतिनिधि सदस्य छन्। घटनापछि गम्भीर चासो व्यक्त राख्दै मन्त्री खड्काले तत्काल यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए।

समितिलाई दुर्घटना कसरी? किन? र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण संकलन गरी प्रतिवेदन तयार पार्न कार्यदेश दिइएको छ।साथै यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझाव स्वरूप पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

त्यस घटनामा झापा भद्रपुरस्थित अस्पताल चोकका ७० वर्षका  विनोद पौडेल, उनकी  ६९ वर्षीया श्रीमती सरिता पौडेल, उनीहरूकी  छोरीतर्फकी नातीनी ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्यको मृत्यु भएको हो। गाडी चालक फुङलिङ-१० का अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराईको पनि मृत्यु थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *