कर्णाली राजमार्ग: दैनिक १० घण्टा बन्द, न्याय खोज्दा यात्रु अलपत्र

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जुम्ला-कालीकोट सडकमा दैनिक १० घण्टा बन्द हुँदा बाह्य पर्यटक र यात्रुहरू अलपत्र परेका छन्। हिमा गाउँपालिका–४, तलिकुडुका ५६ वर्षीय कालीबहादुर बुढाको गत आइतबार फोर्स गाडीको ठक्करबाट मृत्यु भएपछि आक्रोशित आफन्तले कर्णाली राजमार्ग अवरुद्ध गर्दै आएका छन्।

उनीहरूले बिहीबारदेखि प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिरहेका छन्। शनिबार पनि मृतकका आफन्तले नाग्म बजार नजिक सडकमै टायर बालेर, फलामे बार राखेर यातायात ठप्प पारे। जुम्ला–कालीकोट सीमासहित सुर्खेत, नेपालगन्ज, मुगु र जुम्ला–मुगु रुटमा सवारी साधन चल्न सकेका छैनन्। यात्रुहरू नाग्म बजारमा घण्टौँ अलपत्र पर्न बाध्य छन्।

आन्दोलनकारी बिहान ५ बजे नै सडकमा उत्रिन्छन् र दिउँसो ३ बजे मात्रै सडक खुलाउँछन्। मृतक बुढाको परिवारले उचित क्षतिपूर्ति र दोषी चालकलाई कडा कारवाहीको माग गर्दै आन्दोलन चर्काएका छन्। सुर्खेतस्थित रेडियो नेपाल नजिकै फोर्स गाडीले ठक्कर दिँदा बुढाको मृत्यु भएको थियो। चालक तेज थामी प्रहरी नियन्त्रणमा छन्। तर, मृतकका परिवार शव बुझ्न तयार छैनन्।

हिमा गाउँपालिकाका अम्मराज शाहीले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताएका छन्। ‘यो सामान्य दुर्घटना होइन, हत्या हो,’ उनले भने। ‘न्याय र क्षतिपूर्ति नपाएसम्म सडक आन्दोलन रोकिन्न।’ सडक बन्दले यात्रु समस्यामा परेका छन्। सुर्खेत जान नाग्म पुगेका कालिबहादुर बुढा भन्छन्, ‘बिहानै आइपुग्दा दिनभर नाग्ममै बस्नुपर्छ, बेलुका पख मात्रै यात्रा अगाडि बढ्छ।’

सरकला रोकायाले पनि विहानै नाग्मा पुगेर दिउँसोभर बाटोमै बस्नुपरेको बताइन्। ‘सबै यात्रुसँग खर्च हुने अवस्था हुँदैन, गाह्रो भइरहेको छ,’ उनले भनिन्। मुगुको राराताल जान दैनिक ५० भन्दा बढी गाडीहरू नाग्ममै रोकिँदा पर्यटन व्यवसायसमेत प्रभावित भएको छ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतक परिवारलाई छिटो क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। आन्दोलनरत पक्षले मध्यपश्चिम यातायातको सवारी साधनलाई जुम्ला र मुगुमा चल्न नदिने चेतावनी दिएका छन्। हालसम्म गाडी मालिक सम्पर्कमा नआएको र समितिले पीडितका माग बेवास्ता गरेको भन्दै आन्दोलन थप चर्काउने तयारी भएको आफन्तहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *