हालको नियन्त्रण रेखाको आधारमा युक्रेनसँगको युद्ध रोक्ने पुटिनको प्रस्ताव

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालको नियन्त्रण रेखाको आधारमा युक्रेनसँगको युद्ध रोक्ने प्रस्ताव गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहल गरेको युद्धविरामको सफलताका लागि अहिले जुन-जुन ठाउँमा ज-जसको नियन्त्रण छ त्यहाँ उनीहरूकै नियन्त्रण रहने गरी युद्ध रोक्न तयार रहेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

ट्रम्पका विशेष दूत स्टिभ विटकफले अप्रिल महिनाको शुरूमा गरेको रूस भ्रमणका बेला पुटिनले त्यस्तो प्रस्ताव गरेको मानिन्छ। सन् २०१४ मा युक्रेनको क्राइमिया प्रान्त कब्जा गरेको रूसले २०२२ फेब्रुअरीमा युक्रेनमा हमला गरेपछि युक्रेनका थप चार क्षेत्रमा आफ्नो दाबी गरेको छ।

हाल युक्रेनको नियन्त्रण भएको ती चार क्षेत्रको केही स्थानमा पनि युद्धविरामपछि रूसकै नियन्त्रण हुनुपर्ने माग पुटिनले गर्दै आएका छन्। तर विटकफसँगको पछिल्लो भेटमा भने युक्रेनको नियन्त्रणमा रहेको ती स्थानमा आफ्नो दाबी छोड्न तयार रहेको पुटिनले बताएको भनेर फाइनान्सियल टाइम्सले खुलासा गरेको छ।

पुटिनको प्रस्तावलाई युक्रेनमा हमला गरेको तीन वर्षमा पहिलो पटक युद्ध अन्त्य गर्न लचकता देखाएको भनेर अमेरिकाले लिएको छ। त्यसको जबाफमा क्राइमिया प्रायद्वीपमाथि रूसको स्वामित्वलाई मान्यता दिन अनि चार क्षेत्रका भागहरूमा रूसी नियन्त्रण स्वीकार गर्न अमेरिका तयार भएको हो। यद्यपि युक्रेन भने अझै पनि क्राइमियालाई मान्यता दिन नहुने भन्दै आइरहेको छ।

युरोपेली देशहरूले पनि अहिलेको पुटिनको प्रस्ताव मान्यो भने उनले ट्रम्पसामु थप मागहरू राख्नेछन् भनेर सचेत गराएका छन्। रूस र युक्रेनको युद्ध रोक्ने बारे युक्रेनी, युरोपेली र अमेरिकी अधिकारीहरूले बुधबार लन्डनमा छलफल गर्दा पुटिनको प्रस्ताबबारे पनि कुरा गर्नेछन्।

अमेरिकी विदेश मन्त्री मार्को रूबियो र विटकफले लन्डनको बैठकमा सहभागि नहुने बताइसकेका छन्। तर अरू अमेरिकी अधिकारीहरू बैठकमा उपस्थित हुने अपेक्षा गरिएको छ। यो बैठक पछि विटकफले यस हप्ताको अन्तमा फेरि मस्को भ्रमण गरेर पुटिनलाई भेट्ने कार्यक्रम रहेको रूसी मिडियाले भनेका छन्।

अमेरिकाले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने प्रस्ताव असफल भइरहेको बेलामा पुटिनको प्रस्तावले युद्ध रोकिने सम्भाभावना पलाएको हो। अमेरिकाको ३०-दिने अस्थायी युद्धविरामको प्रस्ताब युक्रेनले सहजै स्वीकार गरे पनि पुटिन सहमति दिएका थिएनन्।

पुटिनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सिमित गर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका भागहरूको पनि स्वामित्व हुनुपर्ने माग गरिरहेका थिए।

पुटिन युद्धविरामका लागि तयार नभए रिसाएर रूसमाथि प्रतिबन्ध कडा बनाउँदै लैजाने ट्रम्पले चेतावनी समेत दिएका थिए। युरोपेली मुलुकहरूले पनि रूसमाथि प्रतिबन्ध लगाउने र युक्रेनलाई थप समर्थन जुटाउने विषयमा छलफल गरेका थिए। ‍

रूस र युक्रेन दुवैलाई दबाव हाल्न अमेरिकी विदेशमन्त्री मार्को रूबिओले युद्धविरामका लागि रूस केही दिनभित्र तयार नभए अमेरिका युक्रेनमा शान्ति स्थापना प्रयासबाट पछि हट्ने चेतावनी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *