उक्त क्यान्टिनमा बिक्री वितरण भइरहेको पिउने पानीको ३ वटा, दूध, मह र तेलको एक एक वटा नमुना विभागको मोबाइल फुड ल्याब भ्यानमा परीक्षण गरेको थियो । विभागले ती नमुनामा कैफियत नपाएको जनाएको छ । सो क्यान्टिनलाई सरसफाइमा सुधार गरी खाद्य स्वच्छता ध्यान दिन, पकाउने र भाँडा माझ्ने ठाउँ छुट्टाछुट्टै राख्न र लेबल विवरण पूरा भएका खाद्य पदार्थ प्रयोग गर्न विभागले निर्देशन दिइएको छ ।
यस्तै वीर अस्पतालमा सञ्चालित गुजेश्वरी होटल प्रालि र वीर अस्पताल शाखा निरीक्षण अनुगमन गर्दा सरसफाइमा सन्तोषजनक नरहेको, दूधमा लेबल विवरण पूर्ण नभएको, फ्रिजमा भण्डारण व्यवस्थित नपाइएको तथा पकाएको र नपकाएको खाद्य पदार्थ सँगसँगै भण्डारण गरेको पाइएको थियो । उक्त होटलबाट दूध र तेलको १–१ वटा नमुना विभागको मोबाइल फुड ल्याब भ्यानमा परीक्षण गरिएको र नमुनामा कैफियत नपाइएको विभागले जनाएको छ ।
सो होटललाई सरसफाइमा सुधार गरी खाद्य स्वच्छता ध्यान दिन, पकाउने र भाँडा माझ्ने ठाउँ छुट्टाछुट्टै राख्न र लेबल विवरण पूरा नभएका खाद्य पदार्थ नष्ट गरी पूर्ण लेबल विवरण भएको खाद्य पदार्थ प्रयोग गर्न विभागले निर्देशन दिइएको छ ।
उता शिक्षण अस्पताल महाराजगन्जको एम बी चमेना गृह निरीक्षण अनुगमन गर्दा सरसफाइ तथा ड्रेनेजको अवस्था सुधार गर्नुपर्ने देखिएको समेत विभागले जनाएको छ । चमेना गृहको झ्याल तथा ढोकामा जाली लगाउनुपर्ने, फोहोर व्यवस्थापनमा सुधार गर्नुपर्ने र भुईँको टायल फुटेको पाइएको विभागले जनाएको छ ।
उक्त क्यान्टिनबाट पिउने पानी, दूध र तेलको १–१ वटा नमुना मोबाइल फुड ल्याब भ्यानमा परीक्षण गर्दा कैफियत नपाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । सो चमेना गृहलाई सरसफाइ तथा ड्रेनेजमा सुधार गर्न, फोहर व्यवस्थापन र भुईँ भित्ताका टायल मर्मत गरी सुधार गर्न निर्देशन दिइएको समेत उनले बताए ।
यसैगरी शिक्षण अस्पतालमै सञ्चालित सिद्धार्थ स्वीट एन्ड बेक्स प्रालि निरीक्षण अनुगमन गर्दा सरसफाइमा सुधार गर्नुपर्ने देखिएको विभागले जनाएको छ । त्यहाँ खाद्य पदार्थमा लेबल विवरण पूर्ण नभएको र खाद्य पदार्थ सञ्चयन तथा प्रयोग गरेको र भाडा माझ्ने तथा खाना पकाउने ठाउँ सँगसँगै रहेको पाइएको विभागले जनाएको छ ।
उक्त क्यान्टिनमा प्रयोग गरिरहेको तेलको एउटा नमुना परीक्षण गरिएकोमा कैफियत नपाइएको विभागले जनाएको छ । सो क्यान्टिनलाई सरसफाइमा सुधार गरी खाद्य स्वच्छतामा ध्यान दिन, खानेकुरा पकाउने र भाँडा माझ्ने ठाउँ छुट्टाछुट्टै व्यवस्था गर्न र लेबल विवरण पूरा भएका खाद्य पदार्थ प्रयोग गर्न निर्देशन दिइएको महर्जनले जानकारी दिए ।