उषा खड्गीले मिस नेपाल बनेको २५ वर्षपछि फिल्ममा डेब्यु गरेकी छन् । उनको डेब्यु फिल्म नरसिंहा: अवतार आगामी जेठको ९ गते रिलिज हुँदैछ।
फिल्ममा उनी कस्तो देखिनेछिन् भन्ने कौतुहलता मेटाउँदै यसको निर्माण समूहले उनको फस्टलुक सार्वजनिक गरिसकेको छ। पोस्टरमा उषा मुस्कुराएकी छिन् भने उनको पछाडि नरसिंहाको ठूलो चित्र छ।
फिल्मलाई लिएर निकै उत्साहित रहेको उषाले बताएकी छिन्। उषाले ख्यातिप्राप्त अभिनेता राजेश हमालसँग म्युजिक भिडियोमा भने काम गरिसकेकी छिन्। तर, फिल्ममा हमालसँग स्क्रिन शेयर गर्न पाउदा निकै खुशी लागेको उषाले बताइन्।
दिवाकर भट्टराईको लेखन र निर्देशन तथा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको निर्माणमा बनेको फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाहीलगायतका कलाकारले अभिनय गरेका छन्।