सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण पत्रकारिताको धर्म हो । अन्याय,अत्याचार, भ्रष्टाचार र समाजमा भएका बेथितिको विरोधमा कलम चलाउनु पत्रकारको दायित्व हो । विकृति–विसङ्गतिलाई उजागर गर्ने क्रममा पत्रकारले धेरै चुनौती खेप्नुपर्ने हुन्छ । पत्रकारलाई ज्यान मार्नेसम्मको धम्की आउने गरेको छ ।
समाचार लेख्ने पत्रकारमाथि दिनदहाडै हमला हुन्छ । सञ्चार प्रतिष्ठानमा छिरेर गुण्डागर्दी देखाइन्छ । यसैबीच,विमानस्थल निर्माणमा अनियमितता भएको समाचार लेख्दा एक पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ । सरकारको डिजीका आसेपासेले फोन गरेर पत्रकारलाई धम्की दिएका छन् ।
महतोले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको अनियमितताबारे समाचार लेखेका थिए । उक्त समाचारलाई लिएर गएको शनिबार बिहान १०ः४९ मीनेटमा उनलाई फोन आयो । ती व्यक्तिले स्तरहीन शब्दको प्रयोग गर्दै उनलाई धम्काए ।
कुन समाचारलाई लिएर चित्त नबुझेको खुलाएनन् । सिधै गालीगलौज गर्नतर्फ लागे । आइतबार बिहान ११ः०१ मीनेटमा १ (६७८) ५२३–६५६९ नम्बरको ह्वाट्सएपबाट फोन आयो । अघिल्लो दिन फोन गरेकै व्यक्तिले पुनः फोन गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र प्राधिकरणका बारेमा समाचार नलेख्न दबाब दिँदै गालीगलौज गरे ।
ती व्यक्तिले उनलाई गायब पारिदिने, उडाइदिनेलगायतको धम्की दिएको अडियोमा सुन्न सकिन्छ । सिरहामा रहेका महतोका परिवारलाई पनि बाँकी नछोड्ने भन्दै उनले तर्साएका छन् । प्राप्त अडियोमा ती व्यक्तिले भनेका छन्,‘तँ… बिहारी । भारतबाट आएर वरिष्ठ व्यक्तिको विषयमा भ्रम छर्छस् । तलाईं गायब पारिदिन्छु । १० हजारमा काम गर्ने युट्युबे ।’
त्यस्तै, उनले पत्रकारलाई भुस्याहा कुकुर भनेका छन् । भन्छन्,‘तँजस्तो पत्रकार भुस्याहा कुकुरजसरी हिँडिरहेको हुन्छ । तँ कहाँ हिँड्छस् । तेरो परिवार के गर्छ, मलाई राम्ररी थाहा छ । धेरै फाइँफुट्टी नगर, उडाइदिन्छु ।’
अख्तियारबाट डिजी फर्केपछि अड्डामा सबै न्युज पोर्टलमाथि प्रतिवन्ध
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको अख्तियारमा बयान जारी छ । उनी गत शुक्रबार बिहान १०.२० बजे टंगालस्थित आयोगमा छिरेर साढे १२ बजे निस्केको सुरक्षा स्रोतले बताएको छ ।
त्यहाँबाट हान्निँदै प्राधिकरणको बबरमहलस्थित पुरानो हेड अफिस गएका उनी एक घण्टा जति त्यहाँ बसेपछि सिनामंगलको नयाँ अफिसमा पुगेका थिए । दुईतिर कायम महानिर्देशकको कार्यालय बाहिर एक एक वटा गाडी स्ट्याण्डबाईमा राख्ने गरिएको छ । यसो गर्नुको मुख्य उद्देश्य खेलो फड्कोमा दौडँदा उनी कहाँ छन् भनेर अनुमान गर्न नसकोस् भन्ने ध्येयले काम गरेको कर्मचारीहरु बताउँछन् ।
अस्ति शुक्रबार नै उनले सेफ्टी विभागका चार जना वरिष्ठ कर्मचारीलाई बोलाएर विदेश भ्रमण र विदेशी पाहुनाको आगमनबारे लामै ब्याख्या गरेका थिए । श्रीलंकाको कोलम्बोमा इयुले राखेको कार्यक्रममा यता विदेशी पाहुना आउने भएकाले आफू जान नसक्ने भन्दै उनी अख्तियारको नियमित बयानका कुरा छल्न उध्यत रहेको बताइन्छ । भोलिदेखि शुरु हुने तीन दिने एअर सेफ्टीसम्बन्धी प्रोग्राममा टोली आज प्रस्थान गर्ने कार्यक्रम छ ।
‘आजदेखि प्राधिकरणका कुनै पनि कम्प्युटर र इन्टरनेटमा अनलाइन न्यूजपोर्टल नखुल्ने बनाउनुस् । भरेदेखि खुलेको पायो भने कारवाहीको भागिदार बन्नुहुने छ ।’
महानिर्देशकसहित सेफ्टी स्टाण्डर्ड विभागका प्रमुख तथा १२ औं तहकी नवीना कर्माचार्य,राजु श्रेष्ठ र मुकुल मिश्रालाई केही दिनअघि त्यहाँ जान मनोनयन गरिएको थियो । तर अस्ति दिउँसो बोलाएर तीन जनालाई मात्र जान निर्देशन दिएका छन् ।
शुक्रबार अधिकारीले भनेका थिए, ‘यता उच्चस्तरीय विदेशी पाहुना आउँदैछन् । म जान नमिल्ने भो, तपाईंहरु जानुस्,’तर,टोलीका सदस्यहरुले जवाफमा भने, ‘डिजी नै नगएपछि खल्लो हुन्छ सर,हामी पनि जाँदैनौं ।’ स्रोतका अनुसार यता अख्तियारले नियमित बयानका लागि पत्र काटेकाले उनले तत्काल विदेश उड्न मिल्ने अवस्था देखिँदैन । आफ्ना कर्मचारीलाई बयानको लागि विदेश जान नमिल्ने बताउँदा वास्तविकता खुल्ने डरले उनले ‘पाहुना टोली’ को हवाला दिएका हुन् । ‘यो कर्मचारीको आँखामा छारो हाल्न खोजिएको हो,’ प्राधिकरणका एक जना उच्च कर्मचारीले बताए ।
यसअघि आयोगको ६ नम्बर पिल्लरमा बयान दिने अधिकारी अस्ति २ नम्बरमा हाजिर भएका थिए । २ नम्बरले आर्थिक अनियमितताको विषय हेर्ने गर्दछ । तर,प्राधिकरणमा आवश्यक कागजात माग गर्दै पठाइएका आयोगका अधिकांश पत्र २ र ९ नम्बर पिलरबाट जाने गरेको पाइएको छ । २ नम्बर पिलर आयुक्त किशोर सिलवाल मातहतको हो ।