केचनादेखि लोबुचेसम्म यात्रा सम्पन्न

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जलवायु परिवर्तनको असर र लागूऔषध दुर्व्यसनविरुद्धको सचेतना फैलाउने मूल उद्देश्यसहित नेपालको सबैभन्दा होचो भू–भाग केचना (५८ मिटर) बाट सुरु गरिएको सन्देशमूलक यात्रा सगरमाथा आधार शिविर हुँदै ६११९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहणका साथ सम्पन्न भएको छ ।

पूर्वी नेपालमा उदाउँदो ट्रेकिङ एजेन्सी झापाको ‘ट्रेक ८५८६’ ले आयोजना गरेको यो अभियानमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका ९ जना युवा सहभागी थिए । अभियानको नेतृत्व ट्रेक ८५८६ का सञ्चालकद्वय अमिर राई र मनोज बस्नेतले गरेका थिए ।

अभियानले लागूपदार्थ दुर्व्यसनविरुद्धको आवाजलाई देशको होचो भूभागदेखि उच्च हिमशृंखलासम्म पुर्‍याउने प्रयास गरेको छ । समाजमा तीव्र गतिमा फैलिँदै गएको लागूऔषध दुर्व्यसनले विशेषगरी युवा पुस्तालाई ध्वस्त बनाउँदै लगिरहेको सन्दर्भमा, यो अभियानले सकारात्मक, सिर्जनशील र साहसी क्रियाकलापमार्फत युवालाई सही बाटोमा प्रेरित गर्ने सन्देश दिएको अभियन्ता अमिर राईले जनाए ।

साथै, जलवायु परिवर्तनको विश्वव्यापी संकटका कारण नेपालका हिमाली क्षेत्रहरूमा देखा पर्दै गरेका गम्भीर असरतर्फ पनि आम जनमानसको ध्यानाकर्षण गराउने उद्देश्यसहित यो अभियान अगाडि बढाइएको राईले जनाए ।

लोबुचे हिमालको शिखरबाटै ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को प्रवर्द्धनसमेत गरिएको थियो । कोशी प्रदेशका ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाहृय पर्यटकलाई भ्रमणका लागि निम्तो दिइएको अर्का अभियन्ता मनोज बस्नेतले बताए ।

 अभियानमा बिर्तामोड नगरपालिका, कचनकवल गाउँपालिका, पर्यटन कार्यालय काँकडभिट्टा, ईसेवा र बिर्ता जेसिजको उल्लेखनीय सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *