आजको मौसम: हल्कादेखि मध्यम वर्षा

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङ, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

यस वर्षको ‘प्री मनसुन’ सक्रिय

यस वर्षको ‘प्री मनसुन’ सक्रिय भएको छ । दुई दिनअघिदेखि देशका विभिन्न भूभागमा वर्षा गराउने गरी जलवाष्पयुक्त बादल नेपाल भित्रिएसँगै नेपालमा प्री मनसुन सक्रिय भएको हो ।  अबको साताभरि नै कहिले पूर्वी र कहिले पश्चिमी भूगोलमा हल्का वर्षासँगै बदली कायम राख्ने गरी प्री मनसुन सक्रिय भएको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन ।

शनिबारसम्म एउटा प्रणालीको असर देशका विभिन्न भूभागमा रहने छ भने त्यसपछि फेरि अर्को वर्षा गराउने प्रणाली सक्रिय हुने देखिएको उनले  भनिन , “बङ्गालको खाडी र अरेबियन सागर दुवैतिरबाट न्यूनचापीय प्रणाली नेपालतर आइरहेकाले अबका दिनमा बिहान हल्का घाम लागे पनि दिउँसोदेखि बदली हुँदै साँझपख पहाडी भेगमा गड्याङगुडुङसहित हल्कादेखि मध्यम वर्षा भइरहने छ ।”

यतिबेला सुदूपश्चिम र कर्णाली भूभागमा बढी सक्रिय  रहेको प्री मनसुनी वर्षा त्यसपछि कोशी र मधेश प्रदेशका जिल्लामा बढी सक्रिय रहने सम्भावना रहेको उनकाे भनाइ छ ।

प्री मनसुनका समयमा हल्का बदलीले पनि गड्याङगुडुङसहित चट्याङ पार्ने भएकाले सजग र सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । आगामी मनसुनका लागि वातावरण बनाउन यस प्री मनसुनले भूमिका खेल्ने गर्छ । हिउँदयामदेखि नै विगत लामो समयदेखि वर्षा नहुँदा खडेरीसँगै डढेलो देशव्यापी रूपमा बढेको थियो । जसले देशभर वायुप्रदूषण उच्च बनाएको थियो । वर्षाले ठुलो राहत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *