अदालतमा धर्ना बसेकी दिदीको शरीरमा बहिनीले पेट्रोल छर्केपछि…

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

श्रीमानको हत्यामा संलग्नलाई जिल्ला अदालतले धरौटी र तारेखमा छाडेपछि जाजरकोटकी एक महिलाले बिहीबार उच्च अदालत सुर्खेतको गेटमै आत्मदाहको प्रयास गरेकी छन् । सेतो कफन पहिरेर नाबालक छोराका साथ धर्ना बसेकी जुनीचाँदे गाउँपालिका–६ मइपकी निर्मला शाहीले आत्मदाहको प्रयास गरेकी र उनकी बहिनी शर्मिला शाहीले सोमा सहयोग गरेको भन्दै दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बहिनी शर्मिलाले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेकी थिइन् । उनले दिदी निर्मलाको शरीरमा आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

जाजरकोट जिल्ला अदालतले निर्मलाका श्रीमान् रामबहादुर शाहीको कर्तव्य ज्यान मुद्दामा चार जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । बाँकी दुई जनालाई धरौटी र दुई जनालाई साधारण तारेखमा छाडेपछि निर्मला सोमबारदेखि उच्च अदालतमा धर्ना बसेकी थिइन् । ‘शान्तिपूर्ण रूपमा धर्नामा बसिराख्नुभएको थियो, बिहीबार एक्कासि शर्मिला शाहीले पेट्रोल ल्याएर छर्केर आगो लगाउन खोजेपछि हामीले नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माले भने, ‘आगो लगाउन खोज्ने शर्मिलालाई प्रहरीले नियन्त्रणमा लिएपछि धर्नामा बस्नुभएकी उहाँकी दिदीले आफू पनि प्रहरीकहाँ जान्छु भनेपछि कार्यालयमा ल्याएका छौं ।’

रामबहादुर १७ माघमा जुनिचाँदे गाउँपालिका–५ स्थित शिवपुरी माध्यमिक विद्यालयमा भइरहेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हेर्न गएका थिए । भोलिपल्ट उनी काहाँरे खोलामा मृत अवस्थामा भेटिएका थिए । घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटले थप प्रहरी टोली खटाएर गहिरो अनुसन्धान ग¥यो । घटनास्थलमा रगतजस्तो देखिने रातो पदार्थ भेटिएको र उनको टाउको र कानमा चोट देखिएको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बताएको थियो ।

अनुसन्धानकै क्रममा रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा जाजरकोट प्रहरीले नौ जनालाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो । रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका तुलाकुमारी शाही, वीरबहादुर शाही, जयबहादुर शाही, प्रेमबहादुर शाही, रत्नबहादुर शाही, मैसरा शाही, रेशमबहादुर शाही, रामबहादुर शाही र एक जना नाबालकलाई पक्राउ गरेको थियो । जाजरकोट प्रहरीले उनीहरूविरुद्ध ११ फागुनमा अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरायो । अदालतले १३ फागुनको थुनछेक बहसपछि पाँच जनालाई धरौटी र चार जनालाई कारागार चलान गरेको थियो । त्यसपछि रामबहादुर पत्नी निर्मला अदालतको निर्णयप्रति आक्रोशित बनिन् ।

जाजरकोट जिल्ला अदालतले रेशम, राम र एक नाबालकलाई साधारण धरौटीमा छाड्न आदेश दिएको थियो । पुर्पक्षका लागि तुलाकुमारी, वीरबहादुर, जयबहादुर र प्रेमबहादुरलाई कारागार चलान गर्ने आदेश दियो । मुद्दाको अन्तिम सुनुवाइ भएको छैन ।

रामबहादुरकी श्रीमती निर्मलाले धरौटीमा अदालतले छाडेकामा चित्त नबुझेको भन्दै छुटेकाहरूलाई थुनामा पठाइपाऊँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएकी छन् । विभिन्न आठबुँदे माग राख्दै निर्मला उच्च अदालतअगाडि सोमबारदेखि धर्नामा बसेकी थिइन् । ‘जिल्ला अदालतको आदेश चित्त नबुझेपछि धरौटीमा छुटेकाहरूलाई थुनामा राखीपाउँ भन्ने मुद्दा विचाराधीन छ,’ उच्च अदालत सुर्खेतका प्रवक्ता प्रेमप्रकाश थापाले भने, ‘जिल्ला अदालतबाट कैफियत माग भइसकेकाले प्रक्रियामा गइसकेको छ, दुवै पक्षलाई जानकारी दिएपछि पेशी तोकेर थप प्रक्रिया अघि बढ्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *