कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदुषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।शहरी विकास मन्त्रालयमा आज विज्ञसँग छलफल गर्दै कार्यवहाक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजिवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । अहिले प्रदुषण बढ्नुको मुख्य कारण डढेलाे रहेको जिकिर गर्दै उनले छिट्टै सरकारले यस विषयमा निर्णय लिने बताए ।
छलफलमा वन मन्त्रालयले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने, सवारी जोर बिजोर गरेर चलाउनु पर्ने सम्मको स्थिति हुन सक्ने संकेत गरेको छ । वन मन्त्रालयका सचिव दिपक खरालले यस्तो बताए । त्यसो त विज्ञहरुले प्रदुषणको प्रमुख कारण सवारी साधन रहेको दाबी गर्दै केहिदिन चाप कम गर्नुपर्ने सुझाव दिएका थिए ।
वातावरण विज्ञ भूषण तुलाधरले वायु गुणस्तर योेजना बनाउनुपर्नेमा जोड दिए । डढेलो विज्ञ शुन्दर शर्माले वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनु पर्ने सुझाव दिए । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए ।
राट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधिले सार्वजनिक सवारी साधनले नभएर करिब २ लाख निजी मोटरसाइकलले बढी प्रदूषण गरेको हुँदा त्यसलाई कम गरेर सार्वजनिक सवारी साधनलाई प्राथामिकता दिनुपर्ने सुझाव दिएका थिए ।
छलफललमा वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारी उपस्थित रहेको थियो ।