चिकित्सकीय लापरबाहीका कारण दुई महिनाअघि एक बिरामीको मृत्यु भएको घटनाका पीडितले न्यायका लागि मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
विराटनगर–४ मा सञ्चालित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा फोक्सो एवम् श्वासप्रश्वास सम्बन्धी समस्या लिएर उपचारका लागि भर्ना भएका सुनसरी इनरुवाका ५६ वर्षीया बिमला थापा पोखरेलको गलत उपचार प्रक्रियाका कारण मृत्यु भएको थियो । उनको मृत्यु भएपछि दोषीबाट क्षतिपूर्ति भराउनु पर्ने माग गर्दै पीडित पक्ष अदालत पुगेको हो । मृतकका श्रीमान् महेश्वर पोखरेलले अदालतमा विपक्षीबाट क्षतिपूर्ति दिलाइ पूर्ण न्याय पाऊँ भनि बुधबार फिरादपत्र दर्ता गराएका छन् ।
फोक्सो तथा श्वासप्रश्वासको समस्या करिब ठिक भइसकेको बेला ढाडको दुःखाइ कम गर्न भन्दै फोक्सोको चिकित्सकले दिएको ‘मोर्फिन’ नामक औषधी सेवन गरेकै कारण बिरामीको मृत्यु भएको अदालतमा दायर गरिएको फिराद पत्रमा उल्लेख छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गएको माघ १० गते बिमलालाई नोबेल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।
मृतक बिमलाको फोक्सोमा दीर्घकालीन अवरोधसम्बन्धी रोग सिओपिडी र रक्तअल्पताको समस्या देखिएको भनि अस्पतालका फोक्सो एवम् श्वासप्रश्वास रोग विशेषज्ञ डा. रामहरि घिमिरे र डा. रुपक केसीले उपचार गरेका थिए । एक साताको उपचारपछि समस्या सुधार भई डा. घिमिरेले माघ १८ गते डिस्चार्ज गरी घर लैजान सुझाव दिएको र डिस्चार्ज भएर घर फर्किन पाइने खुसीले बिरामी स्वयंले वार्डका अन्य बिरामीलाई फलफुल र जुस बाँडेकाे फिराद पत्रमा उल्लेख गरिएको छ ।
चिकित्सकले डिस्चार्ज गर्ने सल्लाह दिएपछि झण्डै २५ वर्ष पुरानो ढाड दुख्ने समस्याले दुःख दिइरहेको बिरामीले सुनाएको र त्यसपछि डा. घिमिरेले उक्त समस्या ठिक गरिदिने भन्दै मोर्फिन नामक औषधी लेखिदिएका थिए । उक्त औषधी विराटनगरको कोशी अस्पतालमा रहेको साझा औषधी पसलबाट खरिद गरेर ल्याएको मृतक बिमलाका छोरा सुशान्तरमण पोखरेलले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिए ।
‘‘यो नार्कोटिक समूहको औषधी जहाँत्यहिँ पाइँदैन कोशी अस्पतालमा मात्र पाइने रहेछ, त्यसमा पनि यो औषधी ५० एमजी टिडिएसका दरले सेवन गर्न भनिएको रहेछ जुन अत्यन्तै गलत भएको अन्य चिकित्सकसँग मैले परामर्श गर्दा र अध्ययन गर्दा जानकारी पाएँ ।’’ उनले भने , ‘‘१० मिलिग्राम दरको पाँच गोली उक्त औषधी त्यसै दिन सेवन गरेपछि श्वासप्रश्वासको लेभल घट्दै गएर ममीको ज्यान गयो । यदि चिकित्सकले समयमै बिरामीको अवस्था अध्ययन गरेको भए त्यसविरुद्ध अर्को औषधी दिएर बचाउन सक्ने सम्भावना हुने रहेछ, तर बिरामी गम्भीर भएको जानकारी गराउँदा गराउँदै बिरामीलाई हेर्नै नआएको र आइसियूमा राखेर थप केयर नगरेका कारण एउटा बिरामीको अकालमै मृत्यु हुनपुग्यो ।’’
अस्पतालले दिएको ड्रग स्लिपमा उक्त औषधी चलाउन सिफारिस गरी चिकित्सकद्वय घिमिरे र केसीले हस्ताक्षर गरेकाे पाइएको छ ।
‘‘मोर्फिन नामक दुःखाइ कम गर्ने औषधी सेवन गरेपछि ममीलाई अत्यन्तै असहज भई ज्वरो आउने र ठिक भइसकेको श्वासप्रश्वास सम्बन्धी समस्या बढेको रहेछ, वार्डमै उपचार गराइरहेका कारण बुवाले पटक–पटक ड्युटीमा रहेका नर्सहरूलाई भन्नुभएछ, तर कुनै सुनुवाइ भएन, माघ २० गते रातभरि पीडामा छटपटिएर बिहानीपख बिरामी बेहोस भएपछि मात्र आइसियूमा लगियो । अघिल्लो दिन नै डिस्चार्ज हुने अवस्थामा पुगिसकेको बिरामीलाई आइसियूमा लगेको केही समयपछि उनै डाक्टरहरूले मृत घोषणा गरिदिए छन्,’’ छोरा सुशान्त पोखरेलले भने । चिकित्सकले डिस्चार्ज गर्न सल्लाह दिएको दिन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उक्त अस्पतालको निरीक्षण भ्रमण गरेका कारण उनको डिस्चार्ज प्रक्रिया माघ १८ गते अघि बढेको थिएन ।
मोर्फिन श्वासप्रश्वासका बिरामीलाई दिन नहुने
मोर्फिन एक शक्तिशाली ओपिओइड एनाल्जेसिक (पेनकिलर) हो । यसको प्रयोग अत्यधिक दुःखाइ भएको समयमा चिकित्सकको प्रत्यक्ष रेखदेखमा मात्र दिनुपर्ने मान्यता छ । यद्यपि, श्वासप्रश्वासका बिरामी, एलर्जी, नशासम्बन्धी रोग, गम्भीर मिर्गौला र कलेजोका बिरामी र गर्भवती महिलालाई दिन नहुने चिकित्सकहरू बताउँछन् ।
डा. घिमिरे फोक्सोसम्बन्धी विज्ञ डाक्टर भएकाले एलबिपीको उपचार गर्ने र औषधी दिने काम उनको क्षेत्रमा नपर्ने पीडित सुशान्तरमणले बताए । गलत औषधी दिई गम्भीर लापरबाही गरेका कारण आफ्नो आमाको मृत्यु भएको उनको आरोप छ । अस्पतालले उपलब्ध गराएको कागजातबाटै चिकित्सकीय लापरबाहीका कारण आमाको मृत्यु भएको भन्दै न्यायका लागि क्षतिपूर्ति दिनुपर्ने माग उनले गरेका छन् ।
सम्बन्धित विशेषज्ञ डाक्टरको निरीक्षणबिनै तीन पटक ५० एमजीका दरले १५० एमजी मोर्फिन औषधी सेवन गराइएको अस्पतालबाट जारी भएको औषधी सिफारिस पत्रबाट देखिन्छ । सामान्यत धेरै गम्भीर दुःखाइ कम गर्न बढीमा ५/१० एमजीभन्दा प्रयोग गर्न नहुने यो औषधी लापरबाहीपूर्ण ढङ्गले ५० एमजी सेवन गराइएको र त्यसैले बिरामीको ज्यान गएको पीडित परिवारको आरोप छ ।
गलत औषधी दिएको विषयमा पीडित पक्षले चिकित्सकहरूसँग बुझ्न खोजेका थिए । तर त्यसबेला चिकित्सकहरुले गैरजिम्मेवार जवाफ दिएको आरोप पनि उनिहरूले लगाएका छन् । चिकित्सकले दिएको जवाफ उद्धृत गर्दै सुशान्तरमणले भने , ‘‘चलाउनै नमिल्ने भए कम्पनीले त्यो औषधी किन बनाउथ्यो ? हाम्रो अस्पताल सेवा गर्न नभएर व्यापार गर्ने हो’’ भन्ने जवाफ सुनेपछि न्यायका लागि अदालत पुगेको उनले बताए । मोरङ जिल्ला अदालतमा यस प्रकृतिको पहिलो मुद्दा दर्ता भएको हो । सुरुमा मुद्दा दर्ता गर्न आनाकानी गरेको अदालतले उपभोक्ता अधिकारको प्रयोग गर्दै धेरै सङ्घर्ष गरेर मात्र मुद्दा दर्ता गर्न सफल भएको छ ।
परिवारले संविधानको धारा ४२ (२), उपभोक्ता संरक्षण ऐनको दफा ३ को ५० र ५१ बमोजिम क्षतिपूर्ति मागेको छ । पाँच करोड रुपियाँ क्षतिपूर्ति विपक्षीबाट असुलउपर हुनुपर्ने मागदाबी फिरादपत्रमा गरिएको छ ।
गलत उपचारका कारण बिरामीको मृत्यु भएको भन्ने आरोप र त्यस सन्दर्भमा अदालतमा दर्ता भएको मुद्दाको विषय सार्वजनिक भएपछि अस्पतालले त्यसलाई अध्ययन गरिरहेको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका महाप्रबन्धक दिपेश राईले जानकारी दिए ।
उनले भने , ‘‘यो माघ २१ गतेको घटना रहेछ, त्यस दिन बिरामीको मृत्यु भएपछि परिवारका सदस्यहरूले सहजरूपमै अस्पतालबाट शव बुझेर लैजानुभएको देखिन्छ, त्यस्तो कुनै कम्प्लेनहरू पनि अस्पतालमा आएको थिएन, तर अचानक अदालतमा मुद्दा परेको खबर पाएका छौं त्यसपछि हामी पनि डकुमेन्टहरू खोजेर अध्ययन गरिरहेका छौं र अध्ययनपछि घटनाका बारेमा अस्पतालले आफ्नो धारणा सार्वजनिक गर्छ । अहिलेसम्मको जानकारी अनुसार फोक्सोको बिरामी भए पनि डा. घिमिरेले न्यूरो कन्सर्न गराउन लगाउनुभएको देखिएको छ, मुटुमा पनि समस्या देखिएको र त्यसको परीक्षण गराउन लगाउनुभएको देखिन्छ, तर पछिल्लो खबरले हामी पनि गम्भीर भएका छौं र अध्ययन गरेर यस विषयमा हामी धारणा सार्वजनिक गर्छौं ।’’