सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ लगाउन सार्वजनिक स्थलमा बस्दै आइरहेका दलित दिपक मरिक (डुम)लाई अन्यत्र सारिएको छ । चैत १७ गते सुरु हुने विष्णु महायज्ञको लागि यज्ञ स्थलको मुखमा ऐलानी जग्गामा बस्दै आइरहेका दिपकलाई अन्यत्र सारिएको हो ।
आफू बस्दै आएको घर खाली गराउन पुरै गाउँलेले सहमति गरेपछि बाध्य भएर घर खाली गर्नु परेको दिपक मरिकको श्रीमती अनिता मरिकले जानकारी दिइन ।
“गाउँमा एक घर मात्र डुमको घर छ । गाउँले गरेको निर्णय मान्नै पर्यो । सबैले सहमति गरेर त्यही वडामा पर्ने श्री सुन्दर माध्यमिक विद्यालय औरहीको पश्चिम हुलाकी सडकको कल्भर्टको पानी बग्ने विद्यालयको दुई धुर जग्गामा दुई कोठाको फुसको घर बनाइदिएको छ । न त्यहाँ खानेपानी न विद्युत केही छैन । खानेपानीको लागि निकै टाढा जानुपर्ने बाध्यता छ । वर्षको सययमा जम्ने पानीले फेरि विस्थापित हुनुपर्ने डरले झन् सताएको छ,” अनिता मरिकले पीडा सुनाइन ।
विष्णु महायज्ञको लागि दिपक मरिक बसेको स्थान चयन भएदेखि नै महायज्ञको आयोजना गर्ने बजरङ्गी बाबाले अछुतो मान्ने डुमको आगाडि कसरी महायज्ञ गर्ने ? सर्त राखेपछि औरही गाउँका महायज्ञ गर्नेहरुले बैठक बसेर दिपक मरिकको परिवारलाई घर खाली गराउन गाउँलेहरु सहमति गरेपछि औरही गाउँपालिकाको जेसीवी लगाएर घरमा कोहि नभएको बेला घर भत्काएको थियो । घर रहेको ठाउँको दुई फिट माटो समेत हटाएर त्यस ठाउँलाई शुद्धिकरण गरिएको छ ।
दिपक मरिकलाई घर खाली गराउन कुनै मानसिक सामाजिक दवाव नदिएको गाउँपालिका अध्यक्ष शिवजी यादवको भनाइ छ । उनका अनुसार २०८१ फागुन ११ गते घर खाली गर्ने दिपक मरिकले स्वयम मञ्जुरीनामा कागज गरेपछि घर खाली गराएको हो ।
उनले भने , “सहमतिमा नै त्यस ठाउँमा कृषि बजार व्यवस्थापन गर्न ठेक्का टेण्डर लागाउने कार्य अघि बढेपछि सहमति पत्रमा हस्ताक्षर गरेपछि सुरक्षित ठाउँमा घर बनाइदिएको हो । एक दुई दिनमै खानेपानी र विजुलीको व्यवस्था मिलाइनेछ । यसलाई गलत प्रचार गरेर महायज्ञ हुन नदिइन विपक्षीले षड्यन्त्र गरिरहेको छ ।”
राष्ट्रिय दलित आयोगको सदस्य समेत रहेका कबुली पासवानले जनता आवास कार्यक्रम अन्तर्गत दिपक मरिकको घर निर्माण गरिएको भन्दै घरमा कोहि नभएको समयमा गाँउपालिका अध्यक्ष शिवजी यादवले डोजर लगाएर घर भत्काई विष्णु महायज्ञको आयोजना गरिरहेको दाबी गरे । उनले भने ,“मधेशमा दलित समुदायमाथि विभेद छ । त्यसमा डुम समुदायमाथि धर्मको नाउँमा भइरहेको विभेदले संविधानले दिएको अधिकार समेत खोसिरहेको छ ।”
सिरहा जिल्लामा दलित समुदायमाथि पटक पटक सामाजिक विभेद भइरहेका छन् । न्याय पाउन नसकिरहेको घट्ना सेलाउन नपाउँदै महायज्ञकाे नाममा दलितका लागि विस्थापित गर्ने घटनाकाे छानबिन गरी दोषी जो कोहि भएपनि कारबाही हुनुपर्ने मानव अधिकारवादी अगुवा राजकुमार राउतको माग छ ।
यसैगरी, यस विषयमा प्रतिनीधि सभाकाे आज बिहिबारकाे बैठकमा विभिन्न सांसदले दाेषीमाथि कारबाही गर्न माग गरेका छन् र यस विषयमा वृस्तित विवरण प्रस्तुत गर्न सरकारसँग माग समेत गरेका छन् ।