म्यासेडोनियाको एक रात्रिक्लबमा आगलागी हुँदा कम्तिमा ५१ जनाको मृत्यु भएको छ । आगलागीमा कम्तीमा सय जना घाइते भएका अधिकारीहरूले जनाएका छन् । बीबीसीका अनुसार राजधानी स्कोपियबाट करिब सय किलोमिटर पूर्वमा रहेको कोकानी सहरको पल्स क्लबमा स्थानीय समयअनुसार विहान ३ बजे आगो फैलिएको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका फुटेजमा भवन आगोको लप्काले ढाकिएको देखिन्छ ।
आगालागीको समयमा क्लबमा म्यासेडोनियाको लोकप्रिय हिप-हप ब्यान्ड ‘एडीएन’को कन्सर्टमा आयोजना भइरहेको थियो । स्थानीय अधिकारीले कन्सर्टमा १ हजार ५ जनाको उपस्थिति रहेको जनाएका छन् ।
स्थानीय मिडियाले आतिशबाजी उपकरणहरूको प्रयोगका कारण आगलागी फैलिएको अनुमान गरेका छन् । सार्वजिनक भएका दृष्यहरूमा स्टेजबाट निस्केका आगोका झिल्काहरू फैलिएको देख्न सकिन्छ । गृहमन्त्री पान्स तोस्कोभ्स्कीले घटनाबारे अनुसन्धान सुरू भएको र केही पक्राउ परेको बताएका छन् ।
घाइतेमध्ये ९० जनालाई कोकानीस्थित अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये केहीलाई थप उपचारका लागि राजधानी स्कोपियको अस्पताल लगिएको छ ।