भारतले आजदेखि नेपालमा विद्युत् आपूर्तिमा नियन्त्रण गरे पनि देशभित्र विद्युत् आपूर्ति व्यवस्थापनका लागि लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भारतले मार्च १६ तारिखदेखि नेपालमा दिउँसोको समय (सोलार आवर) अर्थात् बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र इन्डियन इनर्जी एक्सचेन्जमार्फत विद्युत् उपलब्ध गराउने र अन्य समयमा विद्युत् दिन नसक्ने जनाएको छ । इनर्जी एक्सचेन्जबाट बोलकबोलको समयमा सीमितता आएपछि नेपालमा विद्युत् व्यवस्थापनका लागि राति लोडसेडिङ हुने आशङ्का रहेको छ तर नेपाल विद्युत् प्राधिकरणले भने विद्युत्को उचित र प्रभावकारी व्यवस्थापनमार्फत लोडसेडिङको अवस्था आउन नदिइने स्पष्ट पारेको छ ।
“केहिले लोडसेडिङ हुन्छ कि भन्ने आशङ्का गरिरहेको पाइएको छ,” नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने , “सोलार आवरको समयबाहेकको समयमा विद्युत् व्यवस्थापन गर्न हामीले आवश्यक व्यवस्थापकीय प्रबन्ध गरिसकेका छौँ । लोडसेडिङको हल्ला बेकार छ ।”
पछिल्लो पटकको हिउँदे वर्षा हिमाली क्षेत्रमा भएको हिमपातका कारण नखोलनालामा जलप्रवाह बढेकाले जलप्रवाही आयोजनाबाट विद्युत् उत्पादन बढेको छ । त्यस्तै मौसमी अनुकूलताका कारण घरायसी प्रयोजनमा हिटर बाल्नुपर्ने अथवा पङ्खा एसी चलाउनुपर्ने अवस्था पनि छैन । यसकारण लोड व्यवस्थापन सहजै हुने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
“पिक आवरमा हामीलाई चाहिने १७ सय मेगावाट आसपासको विद्युत् व्यवस्थापन गर्न प्राधिकरणलाई समस्या छैन, सर्वसाधारणलाई बिजुली दिन हामी सक्षम छौँ,” उनले भने , “आपूर्ति प्रणालीको सीमितताका कारण केही उद्योगमा पिक आवरमा विद्युत् नपुग्न सक्छ, पिक समयमा सामान्य अवस्थामा पनि उद्योग सञ्चालन नगर्ने भनिएको हुन्छ नै ।” प्राधिकरणको योजना अनुसार साँझ छ बजेसम्म देशभित्रका जलाशय तथा अर्धजलाशययुक्त आयोजनामा दिनभर पानी सञ्चित गरेर पिक आवरमा पूर्ण क्षमतामा चलाइने छ ।
गएको असोजमा क्षति पुगेको अप्पर तामाकोशी जलविद्युत् आयोजना तीव्रताका साथ पुनर्निर्माण गरी पूर्ण क्षमतामा चलाइएकाले पनि प्राधिकरणलाई अहिले सहज भएको देखिन्छ । पिक आवरमा ४५६ मेगावाटको अप्पर तामाकोशी, १४४ मेगावाटको कालीगण्डकी र कुलेखानी १, २ र ३ गरी १०६ मेगावाटलाई प्राधिकरणले यही रणनीति अनुसार सञ्चालन गर्ने छ ।
“हामीले चैत लाग्दासम्म पनि कुलेखानी चलाउनु परेको छैन,” घोषले भने , “पिकमा यो चलाउँदा हामीलाई सहज हुन्छ ।” विगतमा पनि प्राधिकरणले पिक आवरमा आइआइएक्समा बिजुली महँगो पर्ने भएकाले खासै आयात नगर्ने व्यवस्था मिलाइएको थियो । यसबाहेक नेपाल भारत दुईपक्षीय विनिमय समितिको सम्झौताका आधारमा प्राधिकरणले पिक आवरमा चाहिँदा विभिन्न प्रसारण लाइनमार्फत आपूर्ति गर्ने गरेको छ ।
पन्ध्र दिनपछि भने चुनौतीपूर्ण
प्राधिकरणले हालको अवस्थामा विद्युत् व्यवस्थापन सहज भने पनि अप्रिल २०२५ (यहि चैत १९ गते) देखि भने प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा समस्या पर्ने देखिएको छ । गत माघ ३० गते भारतको नयाँ दिल्लीमा सम्पन्न दुई देशीय विद्युत् विनिमय समिति (पावर एक्सचेन्ज कमिटी) ले सन् २०२५ मार्चसम्मका लागि दुई देशबिच विद्युत् खरिद बिक्रीको सम्झौता गरेको थियो ।
माघ २९ गते नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारतीय समकक्षीबिचको सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकको सहमतिका आधारमा विनिमय समितिले मूल्य संशोधनसहित विद्युत् आदानप्रदानको सम्झौता गरेको थियो ।
आयातनिर्यात दुवैमा लागु हुने गरी १.५ प्रतिशतको मूल्यवृद्धिसहित यस्तो सम्झौता गरेको थियो तर सो सम्झौता नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले अझै स्वीकृत गरिसकेको छैन । यसलाई विद्युत् नियमन आयोगले समेत स्वीकृत गर्नुपर्ने हुन्छ । प्राधिकरण कार्यकारी निर्देशक घिसिङलाई यो विषयमा समेत स्पष्टीकरण सोधिएकाले स्वीकृत गर्ने प्रक्रिया चलेकै छैन ।
आउँदो अप्रिल १ सम्म यसलाई स्वीकार गरी भारतीय पक्षलाई जानकारी नगराए अप्रिलदेखि दुई देशीय सम्झौताका आधारमा भइरहेको विद्युत् आयातनिर्यात बन्द हुने छ । यसरी बन्द हुँदा १३२ केभीका कटैया–कुसाहा, रामनगर–बर्दघाट, रक्सौल परवानीपुर र मनैया–सम्पत्तीया–बुटवल प्रसारण लाइनबाट भइरहेको नियमित आयात बन्द हुने छ ।
यसबाट विराटनगर बारापर्सा औद्योगिक कोरिडोर, भैरहवा तथा बुटवल क्षेत्रका औद्योगिक कोरिडोर र गार्हस्थ उपभोक्तासमेतको विद्युत् आपूर्तिमा समस्या आउने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।