‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सबैको अधिकार’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी विश्व उपभोक्ता अधिकार दिवस-२०८१ मनाइँदै छ । यो दिवस प्रत्येक वर्ष मनाइए पनि नेपालमा उपभोक्ताहरू अझै ठगी र शोषणको शिकार भइरहेका छन् ।
आजको डिजिटल युगमा जहाँ उपभोक्ताहरू अनलाइन र अफलाइन बजारमा अत्यधिक सक्रिय छन्, त्यहाँ ठगीका घटना पनि वृद्धि भएका छन् । उपभोक्ताको अधिकार र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले प्रत्येक वर्ष मार्च १५ मा विश्व उपभोक्ता अधिकार दिवस मनाइन्छ । यस दिनको महत्व भनेको उपभोक्ताले आफ्नो अधिकारको बारेमा जान्न र उनीहरूको संरक्षणको लागि विभिन्न संस्थाहरूसँग सचेतना फैलाउनु हो ।
नेपालमा ठगीको मुख्य कारण भनेको उपभोक्ताको अधिकारको प्राप्ति अपर्याप्त जानकारी र कानुनी संरक्षणको अभाव हो । अनलाइन सपिङ, वित्तीय सेवाहरू, र मोबाइल एप्लिकेसनका माध्यमबाट गरिने ठगीका घटनाहरू दिन प्रतिदिन बढिरहेका छन् । अत्यधिक आकर्षक अफर र झुटा विज्ञापनहरूले उपभोक्तालाई शिकार बनाइरहेका छन् । उदाहरणका लागि नक्कली उत्पादन बेच्न र अनलाइन प्लेटफर्ममा असत्य विज्ञापन गर्नेका कारण उपभोक्ताहरू धेरै प्रभावित भएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसको महत्व भनेको उपभोक्ताका चार आधारभूत अधिकारको संरक्षण गर्नु हो- सुरक्षितता, जानकारी प्राप्त गर्ने अधिकार, चुनावको अधिकार, र वाचन अधिकार । यद्यपि, नेपालमा यी अधिकारहरू को सही कार्यान्वयन गर्न अझै धेरै काम गर्न बाँकी छ । उपभोक्ताले आफ्नो अधिकारका बारेमा नजान्दा र कानुनी व्यवस्थाहरूको कमीले गर्दा उनीहरू ठगिँदै आएका छन् ।
साथै, नेपालमा उपभोक्ता संरक्षण ऐनको कार्यान्वयनमा कमजोरी देखिन्छ।यो ऐनले उपभोक्ताहरूलाई नोक्सानीबाट जोगाउने उद्देश्य राखे पनि, बजारमा प्रतिस्पर्धा र मूल्यहरूको अनियन्त्रित वृद्धि थाम्नका लागि थप कदम चाल्नु आवश्यक छ । उपभोक्ताले आफ्नो अधिकारको प्रयोग गर्नका लागि पर्याप्त जानकारी र सहज उपायहरू खोज्न सकेका छैनन् ।
विश्व उपभोक्ता अधिकार दिवसको सन्देश स्पष्ट छ- उपभोक्ताको अधिकारको संरक्षण गर्नु आजको आवश्यकता हो । यस अवसरमा, सरकारले उपभोक्तालाई जागरूक गर्न र संरक्षणका लागि कडा कानुनी उपायहरूको व्यवस्था गर्नु जरुरी छ । साथै,उपभोक्ताहरूलाई आफ्नोे अधिकार बारेमा जानकारी दिनकालागि विभिन्न प्लेटफर्म र अभियानहरू को आयोजना गर्नु आवश्यक छ । यसले उपभोक्ताको विश्वास र सुरक्षा सुनिश्चित गर्न मद्धत पुर्याउँछ ।
नेपालमा उपभोक्ताका अधिकारहरूको संरक्षणको लागि नागरिक, सरकारी निकाय र व्यापारिक संस्थाले सामूहिक रूपमा काम गर्नु आवश्यक छ, ताकि उपभोक्ताहरू ठगीको शिकार नहुन र उनीहरूको अधिकारलाई प्रभावकारी तरिकामा सुरक्षित गर्न सकियोस् ।
कहिलेदेखि मनाउन थालियो ?
अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी संसद् सिनेटमा पेस गरेको ‘कष्टमर बिल अफ राइट’ सन् १९६२ को मार्च, १५ मा स्वीकृत भएको दिनको स्मरणमा प्रत्येक वर्ष विश्वभर उपभोक्ता अधिकार दिवस मनाइन्छ । तत्कालीन पहिलो विश्वयुद्धबाट सिर्जित आर्थिक मन्दीका कारण अर्थ व्यवस्थाले काम गर्न नसकेको भनी आलोचना भइरहेका बेला बजारको एकाधिकारपूर्ण र अनुचित व्यापारिक क्रियाकलापविरुद्ध राल्फनाडर फोरेन्स केली, भाइकल भेरनन्, कार्टिस अर्नाेल्डो, टम पिपरलगायत अधिकारकर्मीले थालेको आन्दोलनको दबाबमा राष्ट्रपति केनेडीले प्रत्येक उपभोक्तालाई सुरक्षा, सूचना, सुनुवाइ र छनोट गर्न पाउने गरी चार अधिकार सहितको घोषणापत्र पारित गर्नुभएको थियो । यस दिनको सफलताका लागि करिब १०० राष्ट्र सदस्य भएको कन्जुमर इन्टरनेसनलले वर्षभर कार्य गर्ने गरी अन्तर्राष्ट्रिय नारा तय गर्दछ भने प्रत्येक सदस्य राष्ट्रले राष्ट्रिय नारासमेत तय गर्ने गरेका छन् ।
यसवर्ष दिवसको अन्तर्राष्ट्रिय नारा ‘ट्रष्ट स्मार्ट प्रोडक्ट’ (स्मार्ट उत्पादनमा विश्वास) तय गरिएको छ । नेपालमा भने ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सबैको अधिकार’ भन्ने नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । नेपालमा उपभोक्ता संरक्षण ऐन २०५४ का दफा ६ अनुसार, वस्तु वा सेवा खरिद र उपभोग गर्ने प्रत्येक उपभोक्तालाई अधिकार प्रत्याभूति गरिएको छ ।
नेपालको संविधान (२०७२) को धारा ४४ मा पनि उपभोक्ताका अधिकारलाई मौलिक हकको रूपमा राखिएको छ । यसमा उल्लेख छ, ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ । गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।’ तथापि, यी कानुनी प्रावधानहरूको कार्यान्वयन अवस्था भने अझै दयनीय रहेको छ । यही कारणले पनि उपभोक्तालाई आफ्नो अधिकारका लागि सचेत रहनका साथै आफैँ संघर्ष गर्नुपर्ने स्थिति देखिन्छ ।
सप्ताहव्यापी कार्यक्रमको आयोजना
विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजनाका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि उपभोक्ता अधिकार दिवस-२०८१ मनाउने निर्णय गरेको छ । विभागका अनुसार, सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिनेछ जसमा उपभोक्ता अधिकार संरक्षण र स्वच्छ, प्रतिस्पर्धात्मक बजार कायम गर्ने उद्देश्यले प्रमुख आयोजनाहरू तय गरिएको छ ।
कार्यक्रमका क्रममा प्रदेश र स्थानीय सरकारलाई अनुगमनकारी निकायसँग समन्वय गर्ने र विभिन्न संघसंस्थासँग सहकार्य गरेर उपभोक्तासँग अन्तरक्रिया र सचेतना कार्यक्रमहरू सञ्चालन गरिने विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।
उपभोक्ता अधिकारकर्मी र सञ्चारकर्मीहरूको भूमिकामा समेत प्रकाश पार्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ ।
यस कार्यक्रमका सहभागीहरूमा उद्योग, वाणिज्य संघका छाता संघ, उपभोक्ता अधिकारवादी संघसंस्था लगायतका प्रतिनिधिहरू रहनेछन् ।