युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो । सुरुमा ब्याटिङ गरेको हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन उनले ४३ बलको सामना गर्दा चार चौका हिर्काइन । कप्तान इन्दु बर्माले ३२ बलको सामना गर्दै १८ रन जोडिन , रोमा थापा ७ बलको सामना गर्दा मात्र चार रन बनाएर आउट हुँदा बिन्दु रावलले चार बल खेल्दै चार रन मात्र बनाउ सफल भइन । नेपालका लागि पूजा महतोले नटआउट २६ बलमा २० रन बनाइन भने अलिसा यादवले नटआउट ५ रन बनाइन ।
युगान्डाको इन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनाएको थियो। उसका लागि शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाए उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन बनाएका थिए ।
बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिए ।
पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको थियाे भने चौथो खेलमा नामिबियासँग २३ रनले पराजित भएको थियो। बिहीबार पाँचौँ खेलमा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको थियो।