नेपाल शिक्षक महासंघले राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ । आगामी फागुन २४ गते माइतीघर मण्डलामा महासंघले बृहत आन्दोलन गर्ने भएको हो ।
विद्यालय शिक्षा विधेयक तत्काल ल्याउनका निम्ति सरकारलाई दबाब दिन आन्दोलन गर्न लागिएको महासंघले जनाएको छ । महासंघका अनुसार आन्दोलनमा काठमाडौं, ललितपुर र भक्तपुरबाट सात हजार पाँच सय शिक्षक सहभागी हुने बताइएको छ । त्यसैगरी, नुवाकोट, काभ्रे र धादिङबाट तीन हजार शिक्षक आन्दोलनमा उतार्ने तयारी छ ।
झापा, सुनसरी, मोरङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, गोरखा, लमजुङ, कास्की, नवलपुर, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुरबाट १७ हजार चार सय शिक्षकले सहभागिता जनाउने महासंघले जानकारी दिएको छ । धनकुटा, इलाम, खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुली, रसुवा, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, पाल्पाबाट तीन हजार नौं सय जनालाई आन्दोलनमा उतारिँदै छ ।
त्यस्तै, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, प्युठान, रोल्पा, सल्यान, दैलेख, रुकुम पश्चिम, कालिकोट, जाजरकोट, अछाम, डोटी, डेडल्धुरा, बैतडीबाट तीन हजार आठ सय जना आउने जनाइएको छ । यता, मुस्ताङ, मनाङ, रुकुम पूर्व, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बझाङ, बाजुरा, दार्चुलाबाट पाँच सय शिक्षक आन्दोलनमा आउने जानकारी दिइएको ।