हिउदे वर्षा गराउँदै बिदा भयो हिउद

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

यस वर्षको हिउँद हल्का वर्षामै सीमित हुँदै सकिएको छ । हिउँदको अन्तिम दिन शुक्रबार हिउँदभरकै राम्रो वर्षा गराउँदै यो वर्षको हिउँदले बिदा लिएको हो । लामो समय देशको मध्यदेखि पूर्वी भूभागमा वर्षा हुन सकेको थिएन । सुदूरपश्चिम र कर्णाली भेगमा थोरै वर्षा भए पनि देशव्यापी हिउँदे वर्षाको छनक यो वर्ष राम्ररी पाउन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अन्तिम समयमा बल्ल देशका अधिकांश स्थानमा वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन् ।  मङ्सिर १५ देखि फागुन मध्यसम्मको अवस्थालाई हिउँदयाम मानिन्छ । हल्काफुल्का वर्षासँगै यो वर्षको हिउँदले बिदा लिएको कँडेलकाे भनाइछ ।   हिउँदको सुरुवाती समयदेखि नै देशव्यापी रूपमा वर्षा नहुँदा सुक्खा चिसोसँगैको खडेरीको अवस्था सिर्जना भएको थियो । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा र हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदको वर्षा यस पटक सन्तोषजनक हुन सकेन ।

कँडेलका अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहितको वर्षा भएको छ । त्यसयताका भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियाे ।  कोशी, गण्डकी, बागमती र मधेश प्रदेशका अधिकांश भूभागमा पनि बदलीसहित वर्षा भएको छ ।

अधिकांश हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको छ । लामो समयपछिको वर्षा र हिमपातका कारण पहाडी तथा हिमाली भेगका स्थानीयमा खुसी छाएको छ । हिउँदे बालीलाई अहिलेको वर्षाले राहत पु-याएको कृषि मौसमविद् रामेश्वर रिमालले जानकारी दिए  ।

बिहीबार रातिदेखि राम्रो बदलीसहित वर्षा हुन थालेको हो । जस अनुसार मध्य नेपालको काठमाडौँ उपत्यकामा पनि लामो समयपछि हल्का वर्षा भएको छ । वर्षा नहुँदा धुवाँ, धुलो र प्रदूषणसहितको बाक्लो तुवाँलो लाग्दा उपत्यका खाल्डोको वायु मानव स्वास्थ्यका लागि हानिकारक बन्दै गएको थियो । हल्का वर्षाका कारण प्रदूषणको मात्रा कम भई स्वच्छ हावा आवतजावतका लागि वातावरण बनेको मौसमविद् बताउछन्  । राम्ररी वायुमण्डल सफा हुन अझ केही वर्षा हुनुपर्ने छ ।

गत २४ घण्टामा सबैभन्दा बढी बैतडीको डिलासैनीमा वर्षा भएको छ । त्यस्तै डडेलधुरा, बाजुरा, कालीकोट, जुम्ला, कास्की, चितवन लगायतका भेगमा पनि राम्रो वर्षा र हिमपात भएको छ । आज शनिबार पनि विभिन्न भेगमा सामान्य वर्षा र हिमपातको अवस्था कायम रहने महाशाखाले जनाएको छ । मधेश प्रदेशमा भने सामान्य बदली कायम रहने छ । हिमपात र वर्षासँगै चिसो बढेकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । कतै कतै वर्षा र हिमपातका कारण जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न सतर्कता अपनाउन पनि भनिएको छ । रुकुम, हुम्ला, जुम्लालगायतका स्थानमा भीषण हिमपात भएको छ । भाेलीआइतबारदेखि मौसममा राम्ररी सुधार आउने महाशाखाले जनाएको छ ।

साम्दोमै रोकिनुप-यो पर्यटक 

उत्तरी गोरखामा तीन दिनदेखि परेको भीषण हिमपातका कारण साम्दो पुगेका पर्यटकलाई लार्केपासतर्फ अघि बढ्न सकस भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ साम्दो, सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा फागुन १४ गते बुधबारदेखि शुक्रबारसम्म निरन्तर रूपमा बाक्लो हिउँ परिरहेको चुमनुब्री गाउँपालिकाले जनाएकाे छ ।

हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक साम्दोमा रोकिएका  २२ जना पर्यटक तीन दिनदेखि गन्तव्यतर्फ जान नसकेपछि होटेल र धर्मशालामा आश्रय लिन बाध्य भएका छन् । “जमिनदेखि १० इन्च माथिसम्म बाक्लो हिमपात छ, होटेल व्यवसायी निमा लामा दोर्जेले भने  “एक टोली पर्यटक लार्केपास जान नसक्नु र अर्को टोली बिचबाटैमा रोकिनुपर्ने अवस्था आएको छ ।”

हिमपातले स्थानीयवासीको दैनिक जनजीवनसमेत कष्टकर बनेको छ । खानेपानीका मुहानमा पानी जमेको छ । वृद्धवृद्धा र बालबच्चालाई चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको छ ।  हिमपातले चरिचरनमा समेत प्रभाव पारेकाले घरपालुवा गाईवस्तुमा घाँसको अभाव भएको , हिमपात तत्कालै रोकिने कुनै छाँटकाँट नदेखिएकाले  पर्यटक अझै केही दिन साम्दोमा नै बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

किसान खुसी

बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि हिमपातसँगै पानी परिरहेको छ । लामो समयपछि हिमपात र पानी परेपछि बैतडीका कृषक खुसी भएका छन् ।

गत असोजदेखि बैतडीमा छिटफुट वर्षा भए पनि पर्याप्त पानी नपरेको डिलासैनी गाउँपालिकाका कृषकले  बताएका छन् । यस्तै हिउँसँगै लगातार पानी परिरहेकाले चिसो बढेर दैनिक जनजीवनसमेत प्रभावित भएको छ । चिसोका कारण स्थानीय घरबाहिर विरलै निस्किएका छन् । सडक तथा बाटोमा पनि यात्रुको आवागमन कम छ । बैतडीका कृषकको मुख्य हिउँदे बाली गहुँ पानी नपरेका कारण हुर्कन सकेको थिएन । पानी परेपछि अन्न, फलफूल, जडीबुटी, पशुपालन फस्टाउने मेलौली नगरपालिका–२ का कृषक देवदत्त भट्टले बताए  ।

हिमपातसँगैको पानीले कृषकलाई ठुलो फाइदा पु-याउने र माटोलाई आवश्यक चिस्यान कायम राख्दै उर्वराशक्ति बढाउने दशरथचन्द नगरपालिका कार्यालयका कृषि प्राविधिक दीपक कार्कीले बताए  । हिउँ पग्लिएपछि माटोमा नाइट्रोजन मिसिने भएकाले बालीलाई आवश्यक पोषण दिन मद्दत पुग्ने र यसले रोग, किरा नियन्त्रणमा पनि सहयोग पुर्याइ भूसंरक्षणमा पनि योगदान पुग्ने उनले उल्लेख गरे  ।

हिमपात र पानीले नदी, इनार, पोखरी र खेतीयोग्य जग्गामा पानीको मात्रा बढाउँछ । यसले सिँचाइका लागि पर्याप्त पानी उपलब्ध गराउँछ । ढिलो गरेर पानी र हिउँ परे पनि स्याउ, ओखर, गहुँ, जौ, तोरीलगायतका बाली र फलफूल खेतीको उत्पादन राम्रो हुने भएकाले कृषक खुसीभएका छन् ।

पानी र हिमपातले माटोको उर्वराशक्ति बढाउने, हानिकारक किरा नियन्त्रण गर्नुका साथै बालीको उत्पादनमा समेत सुधार हुने कृषि ज्ञानकेन्द्र बैतडीका कृषि प्राविधिक महेश पाण्डेले बताउछन् ।  बाजुरामा पनि वर्षासँगै उच्च स्थानमा हिमपात भएको छ । बिहीबार रातिदेखि पानी पर्दा हिउँदे बाली गहुँ, जौ तथा तरकारीलाई राहत मिलेको छ ।

हिउँदमा लगाएको खेती खडेरीले सुक्न लागेका बेला पानी परेपछि अहिले यहाँका किसान निकै खुसी भएका छन् । गत कात्तिक मङ्सिरमा लगाएको गहुँ बाली सुक्न लागेकै बेला अहिले  पानी परेपछि खेतीमा निकै राहत भएको कृषाकहरूले बताएका छन ।  यहाँका खोला किनार नजिकको जमिनमा  त सिँचाइ हुने तर  पाखो तथा भिरालो ठाउँको जमिनमा भने सधैँ सिँचाइ अभाव हुने गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *