सुरुङ खनेर एकैरात पाँच घरमा चोरी

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

 सर्लाहीको कौडेना गाउँपालिका–६, सक्रौलमा सुरुङ खनेर एकैरात पाँचवटा घरमा चोरी भएको छ। गए राति चोरको समूहले सक्रौल टोलका श्रीभुपनारायण राय, राजदेव राय, तेजा सहनी, गगनदेव साह र सुकदेव रायको घरमा चोरी गरेको हो। पाँचवटा घरभित्र रहेका गरगहना, नगद लगायतका सरसामग्री चोरी भएको पीडितले बताएका छन्।

आफूहरु भित्र सुतिरहेका बेला सुरुङ खनेर चोरी भएको पीडितमध्येका राजदेव रायले बताए । कतिपय स्थानीयले अज्ञात व्यक्ति आएर आँखामा  नसालु पदार्थ छर्किएर लुटपाट गरेर फरार भएको बताएका छन्।

चोरको समूहले स्थानीयको घरभित्र रहेका बाकस, कपडालगायत सरसामग्री खेतमा लगेर फालेको पाइएको छ। यसअघि फागुन १२ गते राति पनि सक्रौल गाउँकै मेघन सहनी, रुचा दास, शङ्कर सहनीलगायत को घरमा चोरी भएको थियो।

बारम्बार यसरी सुरुङ खनेर गाउँबस्तीमा चोरी हुन थालेपछि स्थानीय आतङ्कित बनेका छन्। सर्लाहीमा यसअघि माघ २९ गते बसबरिया गाउँपालिकाको धनगढा गाउँको एक घर र चार दिनअघि सदरमुकाम मलङ्गवाको जिविक चोकको एक घरमा पनि दिउँसै ताला फोडेर चोरी भएको थियो।

जिल्लामा श्रृङ्खलावद्धरुपमा चोरीका घटना बढ्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले सक्रौल गाउँमा एकैरात पाँच घरमा चोरी भएको घटनाका सम्बन्धमा स्थानीय प्रहरी चौकीबाट प्रहरी परिचालन गरी घटनाको मुचुुल्का उठाएर थप अनुसन्धान भइरहेको बताए ।

मलङ्गवाको जिविस चौकमा दिउँसै घरको ताल्चा फोडेर चोरी भएको घटनामा पनि शकाङ्स्पद व्यक्तिलाई बोलाएर सोधपुछ गरिरहेको डिएसपी राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *