पानी नपर्दा बढ्यो वायु प्रदूषण, बढी प्रदूषितमा पोखरा

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पर्यटकीय राजधानी पोखरामा आइतबार वायुको गुणस्तर खतरनाक तहमा पुग्यो। आइतबार दिनभरि नै पोखराको वायुको गुणस्तर सूचांक (एक्यूआई) ४ सयको हाराहारीमा रह्यो। गण्डकी बोर्डिङमा रहेको हावामापन यन्त्रले प्रतिघण्टा मापन गरेको पोखराको वायुसूचकांक ४ सय हाराहारीमा देखाएको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिए।

विगत केही दिनदेखि पोखराको वायुको गुणस्तर खतरनाक तहमा पुगेको उनको भनाइ छ। फागुन लागेदेखि नै पोखराको वायु प्रदूषण उच्च देखिएको लामिछानेले जानकारी दिए। विगत २४ घण्टामा पनि पोखराको वायुप्रदूषण १५० भन्दा माथिको तहमा पुगेको थियो।

वातावरण विभागका अनुसार वायु गुणस्तर सूचकांक ०–५० हुँदा राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ्य, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि खतरनाक तह पुगेको संकेत गर्दछ। पोखरामा आइतबार वायु प्रदूषण सूचकांक प्रत्येक घण्टाको मापनमा ३ सयदेखि ४ सयको बीचमा पुगेको थियो। पोखरासँगै भरतपुर, भैंसेपाटी, धुलिखेल, शंखपार्क, भक्तपुर, धुलिखेल, खुमलटारको वायुप्रदूषण प्रतिघण्टा १५० भन्दामाथि अस्वस्थ तहमा पुगेको वातावरण विभागको वायु प्रदूषण सूचकांकमा उल्लेख छ। वायुप्रदूषण मापनयन्त्र जडान भएका मध्ये नेपालगन्ज र हेटौंडाको वायुप्रदूषण ५१ देखि १०० को बीच अर्थात् मध्यम तहमा रहेको छ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मापन ३ सयभन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने उल्लेख गरेको छ। आइक्यू एयरका अनुसार विश्वमा वायु प्रदूषणका कारण बर्सेनि करिब ७० लाख मानिसको ज्यान जाने गरेको छ।

मुलुकमा मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ। विगत केही हप्तादेखि तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको विभागले जनाएको छ। नेपालमा वायु प्रदूषणको मुख्य कारक उद्योग कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धुवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलोसँगै आयातित कारण पनि रहेको वातावरण निरीक्षक लामिछाने बताउँछन्।

हिउँदको समयमा वायुप्रदूषण बढ्ने गरेको भन्दै लामिछानेले देशभरि नै पानी पर्न नसकेको कारण वायुप्रदूषण बढेको जानकारी दिए।

वायुप्रदूषण अवस्था मापनसम्बन्धी पछिल्लो तथ्यांकअनुसार हावाको कणको आकार २.५ पीएम (२.५ माइक्रोनभन्दा सानो धुलोका कण) लाई आधार मान्दा दक्षिण–पश्चिम दिशाबाट आउने हावासँग सम्बन्धित रहेको देखाउँछ। मुलुकका विभिन्न स्टेसनहरूको लागि अत्यधिक प्रदूषित महिनाहरू पनि दक्षिण पश्चिमी वायुसँग जोडिएका देखिन्छन। र, मनसुनका महिनामा पूर्वी दिशाबाट बढी मात्रामा हावा आउने गरेको छ। मार्च र अप्रिल महिनामा हुने वायु प्रदूषण मुख्यतया आगलागीसँग सम्बन्धित हुने गर्छ। यो वर्ष पनि डढेलो बढ्यो भने वायुप्रदूषण अझै बढ्ने विभागले जनाएको छ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको। यसका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउने, सवारीसाधनको नियमित मर्मतसम्भार गर्ने, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्ने लगायतमा ध्यान दिन विभागले सार्वजनिक सूचना जारी गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *