नेपाली सेनाले हालसम्म आफूले जिम्मा पाएका ३२ वटा सडक आयोजनाको काम सम्पन्न गरेको छ । अहिले सेनाले चार सडक आयोजनाको काम गरिरहेको छ । सैनिक मुख्यालयले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै उक्त जानकारी दिएको हो ।
सेनाले हाल खाँदबारी–किमाथांका, बेनिघाट–आरुघाट–लोर्केभञ्ज्याङ सडक खण्ड, कर्णाली कोरिडोर सडक खण्ड र दार्चुला–टिंकर सडक खण्डको काम गरिरहेको छ ।
राष्ट्रिय गौरवको आयोजनामध्ये काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना (फास्ट ट्रयाक) को काममा भने सेनाको भौतिक प्रगति कछुवा गतिमा अघि बढिरहेको छ । सरकारले २०७४ वैशाख २१ बाट सेनालाई उक्त आयोजना निर्माणको जिम्मा दिएको थियो ।
ठेक्का प्रक्रियाअनुसार सेनाले काम भने २०७८ बाट मात्रै शुरू गरेको थियो । हालसम्म फास्ट ट्रयाकको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत भएको मुख्यालयले जनाएको छ । कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रहेको यो आयोजनामा हालसम्म ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भइसकेको छ ।
आयोजनाले ५ हजार २ सय ४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म ४ हजार ८१८ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । अधिग्रहण गर्न अझै ३ सय ८८ रोपनी जग्गा बाँकी छ । जसमध्ये खोकना–बुङ्मती खण्ड, मकवानपुरतर्फ र काठमाडौंका जग्गा छन् । आयोजनाको प्रगति सुस्त गतिमा किन अगाडि बढेको भन्ने प्रश्नमा आयोजनाका प्रमुख एवं उपरथी कमलविक्रम शाहले रुख कटानमा समस्या र बुङ्मतीमा जग्गा अधिग्रहणको कारण अपेक्षाकृत लक्ष्य हासिल हुन नसकेको बताए ।
उनले भने, ‘आयोजनाको काम बजेटले रोकिएको होइन, रुख कटान र गत असोजमा गएको बाढीपहिरोले केही संरचनामा पारेको असरका कारण कामले उल्लेख्य गति लिन नसकेको हो ।’