गत बर्षअसाेजमा आएको बाढीपहिरोबाट कम्तीमा ४६ अर्बको क्षति पुगेकामा पुनर्निर्माणका लागि सरकारले १८ अर्ब रुपैयाँका लागि मात्र स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढीपहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो बेला १ सय ४६ वटा पुल क्षतिग्रस्त भएका थिए । अहिले सरकारले १३ वटा पुल मात्र पुनर्निर्माणका लागि बजेट सुनिश्चित गरेको छ । बाढीपहिरामा ७ वटा सिँचाइ आयोजना, २६ हाइड्रोपावरलगायत दर्जनौं सडक क्षतिग्रस्त भएका थिए ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पुनर्निर्माणका लागि भइआएपछि अर्थ मन्त्रालयले आयोजना पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेको हो ।
स्रोत सुनिश्चित भएका २६ वटा आयोजनामा १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनर्निर्माणमा बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना छन् । त्यसैगरी, अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ ।
अविरल वर्षाका कारण दसैंअगाडि १३ वटा पुल र २१ किलोमिटर सडक बगाएको थियो । सडक र पुलबाट राज्यलाई २५ अर्ब रुपैयाँबराबरको क्षति पुगेको थियो ।राष्ट्रिय स्तरका सडक र पुलमा मात्रै २ अर्ब ६७ करोड रुपैयाँको क्षति पुगेको र ४२ सडकखण्ड अझै अवरुद्ध रहेको बताइएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रतिवेदनअनुसार २३ वटा प्रमुख मार्ग प्रत्यक्ष रूपमा अवरुद्ध भएका थिए ।
प्राधिकरणका उपसचिव डा. डिजन भट्टराईले कल्भर्ट १, बेलिब्रिज २, पक्की ढलान पुल ६, आर्क ब्रिज १, स्टिल ट्रस १, ट्रेल ब्रिज २ गरी कुल ६ सय १० मिटरको पुल बगाएको जानकारी दिए । बाढीपहिरोका कारण पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा गरी तीनवटा बेलिब्रिज बगाएको थियो । त्यस्तै पक्की पुल पाँचवटा, झोलुंगे पुल सातवटा र अन्य किसिमका चारवटा गरी १९ वटा पुलमा क्षति भएको थियो ।
सडक विभागअन्तर्गतका मात्रै देशभर ११ वटा पुल र सय किलोमिटर जति सडक बाढीले बगाएको थियो । कल्भर्ट, दुई बेलिब्रिज, चार आरसीसी सपोर्टेड ब्रिज, एउटा आर्क ब्रिज, एउटा स्टिल ट्रस ब्रिजसहित ११ वटा पुल बगाएको थियो । सो बेला पृथ्वी राजमार्गलगायत देशभरि ४२ वटा राजमार्गमा क्षति पुगेको थियो । राजमार्गमा १ हजार ५ सय ५० मिटर बाटामा गम्भीर क्षति पुगेको थियो । बीपी राजमार्गको एक ठाउँमा ३ सय मिटरभन्दा लामो सडकमा क्षति पुगेको छ ।
गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाबाट २ सय ५० जनाको मृत्यु भएको थियो । १८ जना बेपत्ता र १ सय ७८ जना घाइते भएका थिए । कुल ५ लाख १८ हजार घरपरिवार प्रभावित भएको थियो । सो बेला ५ हजार ९ सय १६ घर पूर्ण क्षति भएको थियो भने १२ हजार ४ सय ७७ घरमा आंशिक क्षति पुगेको थियो । १० हजार ८ सय ७ जना विस्थापित भएका थिए । १ अर्ब ५१ करोड रुपैयाँबराबरको दूरसञ्चार क्षेत्रमा क्षति पुगेको थियो । ५२ वटा स्वास्थ्य चौकी र २ सय ६० वटा विद्यालय क्षतिग्रस्त भएका थिए ।