पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २०६३ सालमा विस्थापित भएका राजालाई नारायणहिटीमै पुनः स्थापित गराउन राप्रपा तयार रहेको बताएका छन् । पोखरामा भएको विरोध सभालाई सम्बोधन गर्दै उनले राजसंस्था फर्काउने आन्दोलन गरेपछि कुनै शक्तिले रोक्न नसक्ने चेतावनी दिए ।
‘निर्मल निवास र नारायणहिटीको दुरी कति छ ? जसरी राजालाई जबरजस्त विस्थापित गर्नुभयो । निर्मल निवासबाट दोहोर्याउँदै नारायणहिटी पुर्याउन तयार छौँ,’ उनले भने, ‘त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । सामान्य नसम्झनुहोला ।’
उनले कांग्रेस र एमालेलाई लचिलो भएर राजसंस्था पुनर्स्थापना जुट्न आग्रह गरेका छन् । ‘तपाईँहरू लचिलो पार्टी हो, हिजो गल्ती भएछ भन्ने स्वीकार गर्नुहुन्छ भन्ने आसा गर्छु,’ उनले भने, ‘तर तपाईँहरूले देशलाई जबरजस्त यसरी लान्छु भन्ने ठान्नुहुन्छ भने देश यसरी चल्दैन । जनता पनि चुप लागेर बस्दैन । राप्रपाले छिनोफानोका लागि तपाईंहरुविरुद्ध आन्दोलनको नेतृत्व गर्छ ।’ लिङ्देनले राजसंस्थालाई अभिभावकी संस्थाको रूपमा राखेर नेपालको मौलिक राज्य व्यवस्था लागू गर्न सकिने प्रस्ताव गरे ।
अभिभावकी संस्थाको रूपमा राजालाई राख्नुपर्यो । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था मिलाउनुपर्यो । अरूको नक्कल गर्दा हामीले दुख पाएको हो । अब दुनियाँमा के छ होइन, हामीलाई के ठिक हुन्छ भनेर मौलिक व्यवस्था निर्माण गर्नुपर्यो,’ उनी भन्छन्, ‘प्रदेश खारेजी, पूर्ण समानुपातिक संसद् र सांसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्यो ।’ हिजोका राम्रा र अहिले भइरहेका राम्रा एजेण्डालाई राखेर अग्रगामी व्यवस्थाको परिकल्पना गर्नुपर्ने उनको सुझाव छ ।भ्रष्टाचार सबै तहमा व्याप्त रहेको उनको आरोप छ ।
अब राजसंस्थाका बारेमा सेनाले निर्णय लिनुपर्ने बेला आयो : रवीन्द्र मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था पुनर्स्थापना लागि नेपाली सेनाले निर्णय लिनुपर्ने बेला आएको बताएका छन् । पूर्व सेनापतिहरूकै कारण देशबाट राजसंस्था हटेकोमा गुनासो गर्दै उनले सेनाकै निर्णयबाट राजसंस्था फर्किन सक्ने बताएका हुन् ।
‘नेपाली सेनाका दुईजना प्रधानसेनापतिले समयमा, परिआएको बेलामा आफ्नो परमाधिपतिको रक्षा गर्न सक्नुभएन । उहाँहरूप्रति मेरो ठुलो गुनासो छ,’ उनले भने,‘सेना भनेको देशको दीर्घकालीन सुरक्षाको सुनिश्चित गर्छ । गणतन्त्र आउने बेलामा दुईजना प्रधानसेनापतिले ७ दलका नाइकेहरूलाई यो संस्थालाई छुन पाउँदैनौ भनेर अड्डी लिएको भए गणतन्त्र आएर यो डामाडोल हुँदैनथ्यो ।’
अहिले पूर्वराजाबाट आफूलाई साथ दिन आह्वान गरेको अवस्थामा सेनाले गहन समीक्षा गर्नुपर्ने उनले सुनाए । सेनासँगै राजसंस्था पुनर्स्थापना लागि उनले प्रहरी र अन्य सुरक्षा निकायको पनि साथ खोजेका छन् ।
पोखरामा राप्रपाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले राजाको वरिपरि हुँदा राजावादी भन्ने र चुनावमा पूरानै पार्टीहरूलाई भोट हाल्ने परिपाटीबाट माथि उठ्न आग्रह गरे ।
पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानले नेपाली जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको बताएका छन् । हेटौंडामा आयोजित राप्रपा नेपाल मकवानपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा जनताले गणतन्त्रवादी कुनै पनि दललाई भोट नहाल्ने अवस्था आउने बताएका हुन् ।
अध्यक्ष थापाले पूर्वराजाको सन्देशलाई सकारात्मक ढंगले ग्रहण गर्न आग्रह गरे । पूर्वराजाले राष्ट्रिय मेलमिलापको प्रस्तावलाई अघि बढाएको उनले बताए । पूर्वराजाको सन्देश कुनै पार्टी र सरकारको विरुद्धमा नभएको उनको भनाई छ । उनले एमाले, कांग्रेस, माओवादी लगायतका दलले सही ढंगबाट काम नगर्दा नागरिकहरूमा निराशा पैदा भएको बताए ।
‘देशलाई ठुला दलले ब्रमलुट गरिरहेका छन् । धेरै युवाहरू विदेश पलायन हुँदा अहिले क्याम्पसहरू पनि बन्द हुने अवस्थामा पुगेका छन् । अहिलेकै अवस्था रहने हो भने सरकारले कर्मचारीहरूको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता पनि दिन नसक्ने अवस्था हुनेछ,’ उनले भने ।