चार रुपियाँ किलोमा गोलभेँडा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सर्लाहीको थोक तरकारी बजारमा गोलभेँडा प्रतिकिलो चार रुपियाँमा झरेको छ । यसरी गोलभेँडाले मूल्य पाउन छाडेपछि सर्लाहीका किसान मारमा परेका छन् । लोकल जातको गोलभेँडा प्रतिकिलो चारदेखि छ रुपियाँ र हाइब्रिड गोलभेँडा प्रतिकिलो छदेखि आठ रुपियाँमा बिक्री भइरहेको छ ।

हुस्सु हटेर घाम चर्किन थालेपछि एकै पटक पाकेको गोलभेँडाले मूल्य नपाउँदा मार परेको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान अमर लामाले गुनासो गरे  । उनले किलोको चार/पाँच रुपियाँमा गोलभेँडा बिक्री गर्दा लगानीसमेत नउठ्ने अवस्था रहेको बताउदै “यो मूल्यमा गोलभेँडा बेच्दा किसानलाई घाटैघाट मात्रै छ,” लामाले भने , “जोताइ, बिउ र विषादीको खर्च केही पनि उठ्दैन ।” किसानका अनुसार अन्य तरकारीको तुलनामा गोलभेँडामा बढी मात्रामा कीटनाशक विषादी प्रयोग गर्नुपर्ने हुन्छ ।

दिनहुँ  प्रयाेग गर्नुपर्ने विषादी अत्यन्त महँगो पर्ने तर गोलभेँडाको मूल्य भने असाध्य सस्तो हुँदा मार परेको किसानले गुनासो गरेका छन् । गोलभेँडा बिक्री हुनै छाडेपछि कतिपय किसानले गोलभेँडा नटिपेर बारीमै छाड्न थालेका छन् ।

कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष एवं व्यापारी तोरनबहादुर मगरले सबैतिर एकै पटक गोलभेँडा उत्पादन भएको तर खपत हुन नसकेका कारण किसानले मूल्य पाउन नसकेको बताउदै भने , “काठमाडौँमा टनेलको गोलभेँडा अत्यधिक भित्रिइरहेकाले यताबाट गोलभेँडा पठाउन सकिएको छैन । काठमाडौँमा निर्यात घटेपछि तरकारी बेच्नै मुस्किल पर्छ ।”

लालबन्दी थोक तरकारी बजारबाट काठमाडौँमा दैनिक ६० देखि ७० टन र जनकपुर, वीरगन्ज, मलङ्गवा, चन्द्रनिगाहपुर, सिन्धुलीलगायत नजिकका बजारमा १५ देखि २० टन गोलभेँडा निर्यात हुने गरेको छ । गोलभेँडा बिक्री नभएर बारीमै नष्ट भइरहे पनि बजारीकरणका लागि स्थानीय पालिकाले कुनै वास्ता नगरेको किसानले गुनासो गरेका छन् ।

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले गोलभेँडा छिटो नष्ट भएर जाने हुँदा किसानलाई सस्तो मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउदै गत वर्ष किसानलाई गोलभेँडाको सस बनाउने तालिम दिए पनि त्यसबाहेक गोलभेँडाको बजारीकरणका लागि थप केही गर्न नसकिएको स्वीकार गरे ।

नगरप्रमुख अधिकारीले ठुला होटेल तथा गोलभेँडा खपत हुने सहरमा निर्यात गर्नु परे त्यसका लागि नगरपालिका किसानलाई सहयोग गर्नका लागि तयार नै रहेको बताए  ।

सर्लाहीमा उत्तरी भेगको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको दुई हजार पाँच सय हेक्टर जग्गामा व्यावसायिक रूपमा गोलभेँडा खेती हुने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *