युक्रेन युद्धबारे अमेरिका र रुसबीच साउदीमा वार्ता

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र रुस उच्चस्तरीय टोली गठन गर्न सहमत भएका छन् । रुस र अमेरिकाबीच साउदी अरबमा मंगलबार भएको वार्तापछि अमेरिकी विदेश मन्त्रालयले उच्चस्तरीय वार्ता गर्ने सहमति भएको जनाएको छ ।

दुई देशका प्रतिनिधिबीच साउदी अरबमा मंगलबार वार्ता सुरु भएको हो । वार्ताको नेतृत्व दुवै देशका विदेशमन्त्रीले गरेका हुन् । वार्तामा रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ र युरी उसाकोभ सहभागी भएका हुन् । उसाकोभ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार हुन् । अमेरिकी टोलीमा विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विटकफ सहभागी थिए ।

त्यस्तै, वार्तामा साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल–साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल–ऐवान सहभागी थिए । अमेरिकाले आजको वार्ता युद्ध अन्त्यका लागि रुस गम्भीर भए/नभएको विषय निर्धारण गर्ने पहिलो कदम भएको बताएको छ । रुसले भने अमेरिकासँगको सम्बन्धलाई सामान्य बनाउने आशा राखेको देखिन्छ ।

वार्तामा युक्रेनी पक्षलाई भने सहभागी गराइएको थिएन । तर वार्तापछि पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कसैलाई पनि किनारा नलगाइएको बताएका छन् । ‘यी वार्ताहरूबाट अमेरिका, युरोप, युक्रेन र समग्र विश्वबाट केही सकारात्मक कुरा निस्कन सक्छन्,’ उनले भनेका छन्, ‘तर पहिला यो द्वन्द्वको अन्त्यबाट सुरु हुन्छ ।’ युक्रेनको सहभागिताबिना हुने कुनै पनि वार्ता अमान्य हुने युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको भनाइलाई लक्षित गर्दै रुवियोले यस्तो बताएका हुन् । यसअघि जेलेन्स्कीले ‘युक्रेनको संलग्नताबिना गरिएका सम्झौता युक्रेनले कहिल्यै पनि स्वीकार नगर्ने’ बताएका थिए ।

जेलेन्स्कीसँग वार्ता गर्न पुटिन तयार

रुसले आवश्यक परेको खण्डमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको जनाएको छ । रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा रुस र अमेरिकी प्रतिनिधिबीच साउदी अरबमा वार्ता सुरू भएसँगै रुसी भनाइ सार्वजनिक भएको हो ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘आवश्यक पर्‍यो भने पुटिनले नै युक्रेनसी जेलेन्स्की राष्ट्रपतिसँग वार्ता गर्न तयार’ रहेको बताएका हुन् । ‘तर जेलेन्स्कीको वैधानिकतामा प्रश्न उठाउन सक्ने वास्तविकतालाई ध्यानमा राख्दै सम्झौताहरूको कानुनी आधारमा छलफल आवश्यक छ, उनले भनेका छन् ।

तीन वर्षदेखि युक्रेनसँग जारी युद्ध अन्त्य गर्ने विषयमा रुसले अमेरिकी प्रतिनिधिहरूसँग मंगलबार वार्ता सुरू गरेको छ । साउदी अरबमा जारी वार्तामा रुसी टोलीमा विदेशमन्त्री सर्गेइ लाभरोभ र रुसी राष्ट्रपति भ्लादिमर पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभ सहभागी छन् ।

अमेरिकी टोलीमा विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ छन् । वार्तामा आयोजक साउदी अरबका तर्फबाट राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल-साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल-ऐवान सहभागी छन् । युक्रेनी पक्षलाई भने वार्तामा सहभागी गराइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *