भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा भएको तनावपछि रक्सौल नाका हुँदै एक सय २६ जना विद्यार्थी नेपाल फर्किएका छन् । केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि त्यहाँ अध्यनरत नेपाली विद्यार्थीहरु असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले रक्सौल नाका हुँदै आज एक सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए । फर्किएका विद्यार्थीले केआईआइटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको उनले बताए।
युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो ।