दुई दिनपछि उठाइयो माना टेलरको शव

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बसेका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्‍याएर दाहसंस्कार गरेका छन् ।

६१ वर्षीय माना टेलरको शवलाई ट्याक्टरमा राखेर ५० किलोमिटर टाढा पाटन नगरपालिका–६, तिपडीगाड पुर्‍याइएकाे हो । सिगास गाउँपालिका–१, अङडेगाडा गाउँका प्रकाशकी आमा माना टेलरको शनिबार बिहान ११ बजे मृत्यु भएको थियो । गाउँमा एक मात्रै दमाई परिवार भएकाले मलामी जाने मानिस नहुँदा ट्याक्टर बोलाइएको प्रकाशले बताए ।

आमाको मृत्युभए पछि दाहसंस्कारका लागि बहिनी ज्वाइँ र कञ्चनपुरको महेन्द्रनगरबाट आफन्त नातेदार मोहन टेलर, श्याम टेलर, कपिल टेलर लगातका आफन्तलाई बोलाएको  आइतबार २५ हजार रुपियाँमा ट्याक्टर बुक गरेर आफन्त र छिमेकी ज्ञानेन्द्र ऐरी लगायतको सहयोगमा शवलाई मशानघाट पुर्‍याइएकाे उनले बताए  ।

गाउँमा समाजमा अहिले पनि गैर दलितले दलितको शव बोकेर मलामी जाने चलन नभए पनि प्रकाश टेलर एक्लो परिवार भएकाले राति शव कुर्न भने केही गाउँले जम्मा भएको स्थानीय ज्ञानेन्द्र ऐरीले बताए  । उनले भने , “शवलाई ट्याक्टरमा राखेपछि म पनि उहाँहरू सँगसँगै मोटरसाइकलमा मलामी आएको छु । मसँगै मेरा फूपाजु नरबहादुर साउद पनि साथमा  छन् । गाउँ समाजमा दलितको शव काँधमा बोकेर मलामी जाने चलन छैन । यद्यपि राति शव कुर्न भने गैरदलित पनि आएका थिए । अरू मलामी नआए पनि यस्तो कुरीति हट्नु पर्छ भनेर मचाहिँ मलामी आएको हुँ।”

प्रकाश टेलर स्थानीय भूमिराज आधारभूत विद्यालयमा मासिक आठ हजार तलब पाउने गरी निजी श्रोतमा शिक्षण गर्दै आएका छन् ।  ३० वर्षीय प्रकाश स्थानीय सामुदायिक वन उपभोक्ता समितिको सचिवसमेत हुन  । श्रमदानमा गाउँमा बत्ती बाल्ने बेला प्रकाशले बिजुलीका पोल बोक्न सहयोग गरेकाले  प्रकाश सहयोगी भावनाको व्यक्ति भएको २१ वर्षीय छिमेकी ज्ञानेन्द्र ऐरीले बताए  ।

प्रकाशको गाउँसँगै जोडिएका वरिपरिका टोलमा दलित, गैरदलित गरी करिब तीन सय मानिसको बसोवास छ । गाउँमा गैरदलित मात्रै होइन, दमाई जाति बाहेकका अन्य दलितसमेत मलामी जान तयार नभएपछि प्रकाशले एक्लो अनुभूति भएको पीडा सुनाए  । गाउँ समाजमा अहिले पनि दलितभित्रै विश्वकर्मा जाति र दमाई जातिबिच भात भान्सा र शवलाई काँध थापेर मलामी जाने चलन छैन ।

प्रकाशको परिवार करिब ४० वर्ष अघि पाटन नगरपालिका–४, बगाडी गाउँबाट सिगास गाउँपालिका–१ (साविकको गाँजरी गाविस–७) अङडेगाडा बसाइँसराइ गरी आएको थियो। सो गाउँमा बसोवास गर्ने अन्यको दाहसंस्कार गर्ने स्थान सोही ठाउँको डुब्केखोला भए पनि त्यहाँ पुग्न शव बोकेर पैदल हिँड्नु पर्छ ।

दिनभरि आँगनमा एक्लै शव कुरिरहेको विषयमा समाचार प्रकाशित भएपछि स्थानीय २१ वर्षीय युवा ज्ञानेन्द्र ऐरी लगायतका युवाले रातभरि शव कुर्न सहयोग गरेपछि जनप्रतिनिधिकोसमेत ध्यानाकर्षण भएको थियो । गाउँका शिक्षित युवाजति सबै रोजगारीका लागि विदेश पलायन भएपछि गाउँमा मलामी जाने मानिस भेटिन मुस्किल भएको सिगास गाउँपालिका–१,का वडाध्यक्ष रामचन्द्र ऐरीले बताए  । उनले गाउँमा एक्लो परिवारलाई प्रकाशको जस्तै समस्या हुने गरेको बताए  । मलामी जाने मानिस नहुँदा शव वाहन वा ट्याक्टरका लागि शनिबार कुरा गरे पनि आइतबार मात्रै एउटा ट्याक्टर तयार भएपछि दाहसंस्कारको काम सम्पन्न भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *