जनमतका नेताद्वारा बन्दुक प्रदर्शन

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

रौतहट — काँधमा बन्दुक बोकेका दुई जनाका बीचमा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवम पूर्वखानेपानी मन्त्री अब्दुल खान र जिल्ला इन्चार्ज सेख जमसेद हिँडेको तस्बिर र भिडियो फेसबुकमा सार्वजनिक गरिएपछि प्रहरीले सोधपुछ गरेको छ । गौर नगरपालिका–६ घर भएका जनमत पार्टीका रौतहट इन्चार्ज जमसेदले बन्दुकसहितको तस्बिर र भिडियो आइतबार फेसबुकमा अपलोड गरेका थिए ।

सार्वजनिक आलोचना बढ्नुका साथै प्रहरीले पनि सचेत गराएपछि जमसेदले तस्बिर र भिडियो फेसबुकबाट हटाएका छन् ।पूर्वमन्त्री जनमत नेता खान शनिबार जमसेदको सबगढास्थित घर आएका थिए । जनमतका केन्द्रीय सदस्य हरपल सिंह र गुजरा नगरपालिकाका इन्चार्ज मोहम्मद असबुल्लाह पनि साथै थिए । त्यही बेला दुवैतिर हतियारसहितका व्यक्ति राखेर खान र जमसेद हिँडेको देखिन्छ । हतियार प्रदर्शन गरेको भन्दै सामाजिक सञ्जालमा धेरैले जनमतका नेताहरूमाथि कारबाहीको माग गर्दै स्थानीय प्रहरी–प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले जमसेदलाई बोलाएर हतियारको इजाजतबारे बुझेको बताए । उनका अनुसार घरमा हतियार सफा गर्दाको दृश्य भएको जमसेदको दाबी छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका दुवै बन्दुकको इजाजतपत्र रहेको डीएसपी रायले बताए । ‘हामीले यसरी हतियार प्रदर्शन नगर्न सचेत गराएका छौं,’ उनले भने, ‘लाइसेन्सधारी बन्दुक घरको कम्पाउन्डभित्र घुमाइएको रहेछ ।’ फेसबुकमा पोस्ट गरेको दृश्यमा भने हतियार सफा गरेको जस्तो कतै देखिँदैन । काँधमा बन्दुक राख्न लगाएर फिल्मी शैलीमा हिँडेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *