नेपाल विद्युत् प्राधिकरणले भूमिगत लाइन विस्तार गर्ने क्रममा बुधबार बबरमहलमा मेलम्चीको पाइप फुट्दा ३० लाख लिटर खानेपानी खेर गएको छ । साढे दुई मिटर गाडिएको करिब २० इन्च मोटाइको डीआई पाइपबाट चार घण्टामा लगातार पानी बग्दा बबरमहल क्षेत्र साँझसम्म जलमग्न बनेको थियो । पाइप फुटेको स्थानमा सडकसमेत भासिएको छ ।
जिल्ला अदालत, सडक, वनलगायतका सरकारी भवनका साथै बस्तीसमेत डुबानमा परेको थियो । पानी बग्न रोकिए पनि लेदो जमेको छ । बबरमहलका साथै मीनभवन, अनामनगर र आसपासका क्षेत्रमा खानेपानी वितरण सेवा बन्द हुन पुगेको छ ।
एक्कासि पाइप फुटेर पानी निस्केपछि सडकमा भागाभाग भएको थियो । उक्त क्षेत्र जलमग्न यातायात सञ्चालन र पैदल आउजाउमा अवरोध भएको थियो । पानीको भेल भित्री बस्तीमा पस्दा पर्खालसमेत भत्किएका छन् ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले बिछ्याएको थोक पाइपका सबै पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । ‘थोक वितरणको लाइन भएकाले पाइपमा पानी २४ सै घण्टा भरिएको अवस्थामा हुन्छ,’ केयूकेएलका प्रमुख कार्यकारी अधिकृत अशोक पौडेलले भने, ‘पाइप मर्मत गरेपछि चाँडोमा बिहीबार बेलुकीदेखि मात्र बबरमहल, अनामनगर, मीनभवन लगायतका क्षेत्रमा बन्द हुन पुगेको पानी वितरण सुचारु हुन सक्छ ।’