नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका छन् । सोमबार भक्तपुरमा आयोजित गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसद्लाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको बताएका हुन् ।
उनले दुई तिहाइको बलमा कांग्रेस–एमालेले मात्रै संविधान संशोधन गर्न नहुने भन्दै यसका लागि माओवादी लगायतका दलसँगको सहमतिका आधारमा अघि बढ्नुपर्ने जिकिर गरे। उनले कांग्रेसलाई अघि बढाउनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने धारणा राखे ।
त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अहिलेको व्यवस्थालाई थप बलियो बनाउने गरि आवश्यकताका आधारमा संविधान संशोधन हुनुपर्ने बताए । संघीय सांसद, प्रदेश सांसद, मन्त्रीमण्डलको संख्या घटाउने, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्ने उनको भनाई थियो ।
त्यस्तै कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको बताउदै अबको सभापति शेखर कोइराला नै भएको जिकिर गरिन् ।