जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौं उपत्यकामा वर्षा नहुने बताएको छ ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा बागमती , गण्डकी , लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति देशका पहाडी भू/भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट जोगिन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
यसैबीच, विभागका मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म काठमाडौं उपत्यकामा पानीपर्ने सम्भावना छैन भने यहाँको आकाशमा आंशिक रुपमा बादल लाग्नेछ ।आज बिहान ५ः४५ बजेको काठमाडाै उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको तथा दिउँसो यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बिच रहने छ ।