साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा रास्वपाका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थालाई प्रतिवादी बनाउँदै चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
मंगलबार सरकारी वकिल कार्यालयको रायअनुसार साहारा चितवन सहकारीको बचत रकम हिनामिनाको आरोपमा जिल्ला अदालत चितवनमा रविसहित १५ जनाविरूद्व मुद्दा दायर गरेको हो ।१५ जना व्यक्तिसहित ६ वटा संस्थाविरुद्ध पनि ठगी तथा संगठित अपराध अभियोगमा मुद्दा दर्ता भएको छ ।
१५ जना प्रतिवादीमा लामिछाने छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ छन् ।
सहकारीबाट ३८ करोड ९ लाख ७९ हजार रूपियाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।