ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ)मा केबलकार निर्माण खारेजीको माग गर्दै आन्दोलन गरिरहेको समूहले वार्ता टोली गठन गरेको छ । सरकारले हिजो गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेर संवादको निम्ति औपचारिक आह्वान गरेपछि आज आन्दोलनरत समूहले प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । टोलीमा शंकर लिम्बु, राम मादेन, सरस्वता सिंगक सदस्य छन् ।
पहिचानवादी समूह र नो केबलकार समूहले माघ १२ गते पाथीभरा नजिकै आयोजना गरेको संयुक्त प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारी र डेढ दर्जन सुरक्षाकर्मी घाइते भएका थिए । त्यसयता पाथीभरा विवाद समाधान गर्न प्रदेश र संघीय सरकारले विभिन्न प्रयास थालेका हुन् ।
पाथीभरा घटनामा प्रहरीलाई गोली चलाउन निर्देशन दिएका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई कारबाहीको माग गर्दै आन्दोलनकारीले आज काठमाडौँको माइतिघरमा समेत प्रदर्शन गरेका थिए । स्थानीय नागरिकमाथि दमन गरेको भन्दै उनीहरुले ‘असक्षम गृहमन्त्री राजीनामा दे’ को नारा पनि लगाए ।