नौ महिनादेखि दुई नेपाली युक्रेनको जेलमा

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

दलालको प्रलोभनमा परेर युक्रेन पुगेका दुई नेपालीहरू विगत ९ महिनादेखि त्यहाँको जेलमा बस्न बाध्य भएका छन्।नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीबाट तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका छन्।

‘राम्रो कमाइ हुन्छ भनेर भारतीय एजेन्टको कुरा विश्वास गरेर नयाँ दिल्लीबाट यहाँ आएका थियौं, तर यहाँ सोचे जस्तो भएन। तीन महिनाको भिसा सकिएपछि भिसा थप्न गएका बेला हामी सेनाको कब्जामा परेका छौं र अहिले जेलभित्र छौं,’ फुर्वा शेर्पाले भने।

सो डिटेन्सन केन्द्रमा हाल दुई जनामा मात्र नेपाली रहेका छन्। उनीहरूले कालो बन्द कोठामा विहान र साँझ पाउरोटीको भरमा जीवन बिताइरहेका छन्। उनले आफूहरूको उद्धारको लागि नेपाली दूतावास जर्मनी र रूससँग पटक-पटक बिन्ती गरे पनि नेपाल सरकारको तर्फबाट कुनै सुनुवाइ नभएको गुनासो गरे।

यता जर्मनीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयाँलले नेपाली दूतावासको तर्फबाट गर्न सकिने सबै प्रयास गरिएको दाबी गरे।

‘उनीहरूलाई माल्दोवाको ट्रान्जिट भिसामा मात्र बाहिर निकाल्न सकिन्छ, तर उनीहरू अहिले अनडोक्युमेन्टेड (भिसा सकिएको) अवस्थामा रहेका कारण कानूनी रूपमा ट्रान्जिट भिसा मिलाउन अप्ठ्यारो छ,’  फुयाँलले भने। उनले युक्रेनस्थित आईएमओ, बोर्डर प्रहरी, अध्यायन विभाग र युक्रेनका लागि श्रीलंकन अनरीकाउन्सिलर को समन्वयमा उद्धारको प्रयास जारी रहेको पनि जानकारी दिए।

‘हामीले युक्रेनको सरकारी निकायसँग १० औं पटक पत्राचार गरेका छौं। उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याउन नेपाली दूतावास बर्लिन र मस्कोले समन्वय गरेर काम गरिरहेका छन्। छिट्टै सकारात्मक नतिजा आउनेमा हामी विश्वस्त छौं,’ फुयाँलले भने।शेर साम्बो शेर्पाले नेपालमा एक छोरी र श्रीमतीलाई छाडेर युक्रेन आएको अवस्थामा छिट्टै नेपाल फर्कंने वातावरण बनाइदिन नेपाल सरकारसँग अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *