सरकारी वकिलको बहस सकियोः लामिछानेका वकिलको बहस आज

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको थुनछेक बहसमा बिहीबार सरकारी वकिलको तर्फबाट ८ जना वकिलले बहस गरेका छन्। जाहेरवालाको तर्फबाट भने एकजना वकिलले आफ्नो तर्क राखेका थिए।

सरकारी वकिलको तर्फबाट बहस बिहीबार नै सकिएको छ भने आज जाहेरवालाको तर्फबाट एकजना वकिलले बहस गर्नेछन्। त्यसपछि लामिछानेका वकिलहरूले आफ्नो तर्क प्रस्तुत गर्नेछन्। जिल्ला अदालत रुपन्देहीका रजिष्ट्रार यज्ञमूर्ति ज्ञवालीका अनुसार आजनै थुनछेक बहस टुंग्याउने तयारी छ।

गोर्खा मिडिया नेटवर्कमार्फत बुटवलको सुप्रिम सहकारीको बचत अपचलन सम्बन्धी प्रकरणमा रवि लामिछानेलगायत २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा जिल्ला अदालत रुपन्देहीमा दर्ता गरिएको छ।आइतबार दर्ता भएको सो मुद्दाको थुनछेक बहस बुधबारदेखि सुरु भएको हो। लामिछाने बुधबार आफैं अदालतमा उपस्थित भएका थिए।

पाँच नम्बर न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबार सरकारी वकिलहरूले तर्क प्रस्तुत गरे। सहन्यायधिवक्ता सोमकान्त भण्डारी, उपन्यायधिवक्ता रवि न्यौपाने र प्रकाश मरासिनी, जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलसहित गोकर्णराज घिमिरे, बसन्त पोखरेल, सुनिल लामिछाने र पवित्रा भण्डारीले सरकारी पक्षको तर्क प्रस्तुत गरे। जाहेरवालाको तर्फबाट अधिवक्ता दिनेश त्रिपाठीले बहस गरे।

सरकारी वकिलहरूले लामिछानेलाई हाजिरी जमानीमा छोड्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै न्यायाधीश योगीको निष्पक्षतामाथि प्रश्न उठाएका थिए। सरकारी वकिलका अनुसार ‘फौजदारी मुद्दामा प्रतिवादीलाई न्यायिक हिरासतमा राख्नुपर्ने प्रावधान विपरीत जमानीमा छोड्नु गलत’ भएको भन्दै न्यायाधीशले यो मुद्दा हेर्न नहुने माग राखिएको थियो।

सरकारी वकिलका एकजनाले भने, ‘फौजदारी मुद्दाका प्रतिवादीलाई प्रहरीको जिम्मा लगाउनुपर्नेमा श्रीमतीको जिम्मा लगाइएको छ। यस्तो अवस्थामा  निष्पक्ष न्याय दिन सक्नेमा हाम्रो आशंका हो।’

यस विवादका कारण बिहीबार १२ बजेमात्र थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलहरूले रवि लामिछानेले सुप्रिम सहकारीका हजारौं बचतकर्ताको करोडौं रकम अपचलन गरेको प्रमाण प्रस्तुत गरेका थिए।

आज जाहेरवालाको तर्फबाट सुरेन्द्र भण्डारीले बहस गर्नेछन्। त्यसपछि लामिछानेका तर्फबाट सुशील पन्त, रमन श्रेष्ठ, राजेन्द्र सेढाईं, र सुरज बस्नेतसहितका वकिलले तर्क प्रस्तुत गर्नेछन्। रवि लामिछानेका वकिलहरूले आजनै थुनछेक बहस टुंग्याउने प्रयास गर्नेछन्।

सुप्रिम सहकारी प्रकरणमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ। विशेषगरी गितेन्द्रबाबु राई, पूर्व डिआइजी छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेल र लक्ष्मी पौडेलको समूहले १० करोड ९९ लाख ३६ हजार रुपैयाँ अपचलन गरेको पुष्टि भएको भन्दै सो बराबरको बिगो दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *