अझै एक साता तराईमा बाक्लो हुस्सु/कुहिरो लाग्ने

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईदेखि पश्चिम तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागिरहेको मौसमविद् प्रतिभा मानन्धरले  जानकारी दिइन् । उनका अनुसार बिहान पौने ६ बजे धनगढीमा २०० मिटर भिजिविलिटी रहेको छ । नेपालगञ्ज र पोखरामा समान ५०० मिटर भिजिविलिटी छ ।

सिमरामा ८०० मिटर भिजिविलिटी रहँदा विराटनगर र चन्द्रगढीमा समान एक हजार मिटर भिजिविलिटी रहेको छ । घाम लाग्दै गएपछि केही कम हुँदै जाने र अपराह्नसम्म हट्ने मौसमविद् मानन्धरको भनाइ छ ।

आज पनि तराईका अधिकांश स्थानका विमानस्थलको सेवा बिहान प्रभावित हुनेछ । दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा विमानले उडान र अवतरण गर्न सक्दैनन् । “जनवरी महिनाभर तराईमा हुस्सु र कुहिरो लाग्छ । चिसोको समयमा हरेक वर्ष तराईमा हुस्सु र कुहिरो लाग्नु सामान्य हो,” मौसमविद् मानन्धर प्रष्ट पार्छिन्, “फेब्रुअरी सुरु भएपछि हुस्सु र कुहिरो लाग्नेक्रम कम हुँदै जान्छ ।”

एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई हुस्सु भनिन्छ ।  न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम चल्नु हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण भएको मौसमविद्को भनाइ छ ।

हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुन्छ ।

धेरै स्थानमा मौसम सफा रहने

देशका अधिकांश भूभागमा आज मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेकाे छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । विभागले हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

पछिल्लो चार दिनको काठमाडौंकाे न्यूनतम तापक्रम 

केही दिनयता काठमाडौंको तापक्रम स्थिर देखिएको छ । काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसको वरिपरि रहेको छ ।

आज बिहान पौने ६ बजेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । दिउँसो बढेर अधिकतम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्नेछ ।

बिहीबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस नै रहेको थियो । बुधबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मंगलबार सोही समय काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *