सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराधको कसुरमा लामिछानेविरुद्ध आइतबार रूपन्देही अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित हुनुभएको हो । जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान लिइएको हो ।लामिछाने बयानका लागि बिहान साढे १० बजे नै अदालतमा पुगे पनि दिउँसो २ बजेदेखि मात्र बयान सुरु भएको थियो । जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधबार बयान लिने काम सकिएकाले अब बिहीबारदेखि थुनछेक बहस हुने छ ।
लामिछानेको पक्षमा बहस गर्न काठमाडौंबाट पनि कानुन व्यावसायी रूपन्देही आएका छन् । अधिवक्ता नारायणदत्त कँडेल, नारायण घिमिरे, सुशील पन्तसहितका कानुन व्यावसायी आएका हुन् । रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ ।त्यसैगरी, पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने छन् । उनिहरू पनि बहसका लागि रूपन्देही आइपुगेका छन् । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार सरकारी वकिलको कार्यालयको तर्फबाट १२ जनाभन्दा बढी कानुन व्यावसायीले बहस गर्ने छन् ।
इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जन बढी तथ्य र प्रमाणसहित रवि लामिछाने, छविलाल जोशीसहित पूरकमा १४ र सुरु मुद्दाका आठसहित २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा पूरक मुद्दा दायर गरेको थियो ।२२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपियाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध दुई करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिकतर्फ १० करोड ९९ लाख रुपियाँको छुट्टै बिगो माग गरिएको छ ।
रविलाई श्रीमती र कानून व्यवसायीको जिम्मामा छाडियो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर छाडेको छ।रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बुधबार अदालत उपस्थित भएका थिए ।बुधबार उनको बयान सकिएको छ । बिहीबारबाट उनको थुनछेक बहस सुरु हुनेछ ।