विपिन रिहाइका लागि तीव्र पहल

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

इजरायल र प्यालेस्टाइनबिच युद्धविराम तथा बन्धकमुक्त गर्ने सम्झौताको अन्तिम तयारी चल्दै गर्दा हमास समूहले नियन्त्रणमा लिएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले पहल तीव्र पारेको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल तीव्र पारेको हो । अबको केही दिनभित्रै युद्धविराम सम्झौता हुने कार्य अन्तिम चरणमा पुगेको शक्ति राष्ट्र अमेरिका र मध्यस्थकर्ता मुलुकले जनाएका छन् ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये करिब ३४ जनालाई मुक्त गर्ने पुष्टि भएसँगै परराष्ट्रमन्त्री डा. आरजु राणाले कूटनीतिक पहललाई थप तीव्रता दिएकि छन्  । परराष्ट्रमन्त्री राणाले हमाससँग सम्पर्कमा रहेका तथा युद्धविरामका लागि मध्यस्थता गरिरहेका मुलुकका उच्च अधिकारी तथा कूटनीतिज्ञहरूलाई जोशीको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्दैआइरहेकि छन् ।

यसक्रममा मन्त्री राणाले मङ्गलबार कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्तामार्फत जोशीको रिहाइका लागि अपिल गरिन  । राज्यमन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन ।

परराष्ट्रमन्त्री राणाले खुलाइफीसँगको फोनवार्तामा कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग औँल्याउँदै कतार सरकारले हमाससँगको सम्पर्कमा रहेर शान्तिवार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकोमा सो को प्रशंसा गरिन् । त्यसक्रममा नेपाली युवा विपिन जोशीको रिहाइका लागि पनि विशेष पहल आवश्यक रहेको स्पष्ट पार्दै साे  पहल कतारका तर्फबाट हुन सक्ने परराष्ट्रमन्त्री राणाले बताइन् । टेलिफोन वार्ताका क्रममा कतारका विदेश राज्यमन्त्री खुलाइफीले हमासलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रूपमा अगाडि बढिरहेको जानकारी दिदै  हमासको अपहरणमा रहेकाको मुक्तिका लागि कतार सरकारले सक्दो पहल गरिरहेको बताए  ।

राज्यमन्त्री खुलाइफीले नेपाली नागरिक विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरूले प्राथमिकतामा राखेको जानकारी गराउँदै पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरणमुक्त हुनेमा आफू विश्वस्त रहेको  बताए  ।

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणाले मङ्गलबार साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गर्दै  इजरायल सरकारले जोशीसहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै जोशीलाई मुक्त गराउन विशेष आग्रह गरेकि छन्  । त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी दिए  ।

संयुक्त राष्ट्रसङ्घ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरूका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्रमन्त्री डा. राणाले विपिन रिहाइका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आइरहेकि छन्  ।

सन् २०२३ को अक्टोबरमा प्यालेस्टाइनी हमास समूहले इजरायली भूमिमा आक्रमण गर्दा १० जना नेपालीसहित एक हजार दुई सय नागरिकको मृत्यु भएको थियो । त्यसलगत्तै हमासले २५१ जनालाई बन्धक बनाई लगेकामा विपिन जोशी पनि रहेका छन् । तीमध्ये १५७ जनालाई छाडिसकेको र अझै ९४ जना बन्धक रहेको अनुमान छ । तीमध्ये ३४ जनाको मृत्यु भइसकेको अनुमान छ ।

सम्झौता अन्तिम चरणमा 

यसै बिच, गाजामा तत्काल युद्धविराम र हमास नियन्त्रणमा रहेका बन्धक रिहाइका लागि हुने सम्झौताका सर्तको मसौदा अन्तिम चरणमा रहेको प्यालेस्टिनी उच्च अधिकारीले जनाएका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पनि युद्धविरामसहितको सो सम्झौता सफल हुने विश्वास व्यक्त गरेका  छन् । उनले  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र मध्यस्थकर्ता कतारका शेख तमिम बिन हमाद अल थानीसँग यस विषयमा कुराकानी गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सम्झौताको अन्तिम तयारीलाई थप पुष्टि गर्दै इजरायली उच्च अधिकारीले पनि एक/दुई दिनभित्र वा केही दिनभित्र सम्झौता हुने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *