एक महिने त्रिवेणी मेलाले पहिचित उदयपुरको कटारी नगरपालिका–२ कमला नदिको किरानामा मेला लागेको छ । हरेक वर्ष माघे संक्रान्तिदेखि एक महिना सम्म लाग्ने त्रिवेणी (मैनी) मेला यस वर्षपनी लागेको हो ।
मैनी मेलाले समेत परिचित त्रिवेणी मेलामा अहिले परापूर्वकालदेखि नै लाग्दै आएको ऐतिहासिक त्रिवेणी मेला देशमा आएको सशस्त्र द्वन्द भन्दा पहिला माघ महिना भरी र त्यसपछि १५ दिनसम्म लाग्दै आएको छ । तावा, ककरु र कमला नदीको संगमस्थल त्रिवेणीमा लाग्ने मैनी मेलामा आई पुजा आराधना तथा मकर नुहाउनाले चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ । यस मेलामा प्रदेश नम्बर १, मधेश प्रदेश र बागमति प्रदेशका अलावा भारतबाट समेत तिर्थालुहरु आउने गर्दछ ।
सडक संञ्जाल जोडिनु पूर्व पहाडी जिल्ला ओखलढुँगा, खोटाङ्ग, सोलुखुम्बुका स्थानीयबासीले यो मेलाबाट आवश्यक लत्ता, कपडा, नुन, मरमसला खरिद गर्नुका साथै पहाडका भोटे कुकुर, अन्य उत्पादनको विनिमयको रुपमा मेला चर्चित हुने गरेको बुढापाकाहरुको भनाई रहेको छ ।
तीन नदीको संगमस्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलिदिई पूजा आराधना गर्नाले चिताएको कुरा पूरा हुने जनविश्वास छ । त्रिवेणीमा मकर नुहाउन सिन्धुली, सिराहा, सप्तरी, ओखलढुंगा, खोटाङ, सोलखुम्बु लगायतका छिमेकी जिल्ला हुँदै भारतको बिहारबाट समेत धार्मिक पर्यटक आउने गरेको स्थानीयवासीको भनाई रहेको छ ।
मेलाको आकर्षण सोलखुम्बुको भोटे कुकुर र ओखलढुंगाको राढीपाखी हुने गरेको आयोजक समितिका अध्यक्ष नरबहादुर तामाङले बताए । यस्तै, मेलामा सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेच हुने गर्दछ । यो मेला पूर्वी नेपालमै परिचित छ ।
उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिकाको सिमानामा मेला लाग्दै आएको छ । मैनी मेलाले परिचित यस मेला नेपालकै पुरानो र लामो समय सम्म लाग्ने मेला मध्येमा पर्ने गरेको कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारि दिएका छन । मेलामा नेपाल लगायत भारत सम्मका भक्तजनहरु आउने गरेको पाईन्छ । मेलाका करिब २ लाख भक्तजन आउने अनुमान गरिएकाेछ ।