पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी कास्की अदालतमा विचाराधीन मुद्दामा आज आदेश आउने सम्भावना भएको छ । बुधबार नै जाहेरवालाका वकिलहरूले जवाफी बहस सकेका छन् । आज सरकारी वकिलहरूले बहस गरेपछि साँझसम्म आदेश आउन सक्ने बताइएकाे छ ।
बुधबार जाहेरवालाको तर्फबाट रमण कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गरेका छन् । उनीहरुले लामिछानेसहित ४ जना प्रतिवादीहरूको गोर्खा मिडियामा जिम्मेवार संलग्नता रहेकोले सहकारीको रकम ल्याउन पनि भूमिका खेलेको बताएका छन् । ‘चेक साइन गर्नेलाई खातामा पैसा आएको थाहा हुँदैन,’ उनीहरुले भने, ‘त्यत्रो कारोबार हुँदा एक पटक पनि बैंक स्टेटमेण्ट हेरिएन ?’
पीडितहरूले न्याय पाउनका लागि सबैलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने दाबी वकिलहरूको छ । त्यसअघि प्रतिवादी रामबहादुर खनालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादुर थापाले बहस गरेका थिए । कृष्णबहादुर गुरुङको पक्षबाट अधिवक्ता हरि सुवेदी र गंगाप्रसाद सुवेदी तथा मीना गुरुङ र आरती गुरुङको पक्षबाट अधिवक्ता सुरेन्द्र थापामगर र अधिवक्ता मनोज घर्तिमगरले थुनछेक बहस गरेका छन् ।